फ्रान्सबाट आएकी एक नेपालीमा कोरोना संक्रमण पुष्टि

143
  •  
  •  
  •  

काठमाडौं । फ्रान्सबाट कतार ट्रान्जिट भएर आएकी एक नेपालीमा कोरोना भाइरस(कोभिड–१९) संक्रमण भएको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा कोरोना संक्रमण देखिएको पुष्टि गरिएको जानकारी गराइएको हो ।

१९ वर्षीय युवतीमा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भएको स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बताए ।

‘गत मंगलबार चैत्र ४ गते कतारको दोहाबाट आएका र होम क्वारेन्टाइनमा राखिएका व्यक्तिको रिपोर्ट पोजेटिभ देखिएको छ’ पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले भने । उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

यसअघि चीनबाट आएका एक जना नेपालीको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । तर, उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् । सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबै अन्तर्राष्ट्रिय नाका बन्द गराएको छ भने अन्तर्राष्ट्रिय उडानसमेत बन्द गरेको छ । सोमबार लामो दुरीका सार्वजनिक यातायातमा पनि रोक लगाइएको छ ।

फ्रान्सबाट आएका अन्य यात्रुहरुको पनि खोजि शुरु

फ्रान्सबाट कतार ट्रान्जिट भएर आएकी एक नेपालीमा कोरोना संक्रमण पुष्टि भएसँगै उनीसँगै आएका अन्य यात्रुहरुको पनि खोजि शुरु गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ती युवतीमा कोरोना संक्रमण देखिएको पुष्टि भएसँगै उनीसँगै आएका अरु यात्रुहरुको पनि खोजि शुरु गरिएको हो ।

१९ वर्षीया ती युवतीको परिवार र होम क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई परीक्षण गर्ने र उनीहरुलाई पनि आइसोलेसनमा राख्ने व्यवस्था गरिएको छ ।


  •  
  •  
  •