कोरोनाविरुद्धको खोप सातै प्रदेशमा पुर्‍याइँदै

76
  •  
  •  
  •  

काठमाडौं । कोरोना भाइरस विरुद्धको खोप ‘कोभिशिल्ड’ आज सातवटै प्रदेशका भण्डारण केन्द्रमा पुर्‍याइने भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेशबाटै जिल्ला अस्पतालमा आवश्यकताका आधारमा खोप वितरण गरिने छ ।
पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शव वाहन चालक, शव व्यवस्थापनमा खटिएकाहरुलाई खोप लगाइने मन्त्रालयले जनाएको छ ।
पहिलो चरणको खोप अस्पताललाई नै खोप केन्द्र बनाएर लगाइनेछ । सात प्रदेश र ७७ जिल्लामा गरी करीब ३०० अस्पतालबाट खोप लगाइनेछ । काठमाडौं उपत्यकामा भने १० भन्दा बढी अस्पतालमा खोप वितरण गरिनेछ ।

पहिलो खोप लगाएको एक महिना वा चार हप्तापछि दोस्रो मात्रा दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए । खोप लगाउन शुरु गरेको एक हप्ताभित्र सबै खोप लगाइसक्ने मन्त्रालयको तयारी छ ।

भारत सरकारले यही माघ ८ गते अनुदानमा नेपाललाई १० लाख मात्रा खोप अनुदानमा उपलब्ध गराएको थियो ।


  •  
  •  
  •