विदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ६१ पुग्यो, ९३ प्रतिशत बढी संक्रमणमुक्त

721
  •  
  •  
  •  

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट विदेशमा हालसम्म १ सय ६१ जना नेपालीको मृत्यु भएको छ । यो साता थप १ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएसँगै मृत्यु हुनेको संख्या बढेको हो ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता यूकेमा थप १ जनाको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा.संजीव सापकोटाका अनुसार शनिबार साँझसम्म विदेशमा मात्र १ सय ६१ जना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

समितिका अनुसार ३६ मुलुकमा रहेका ३१ हजार १ सय ५० कुल संक्रमित मध्ये २९ हजार २ सय ४३ जना अर्थात ९३ प्रतिशत भन्दा बढी नेपालीहरु कोरोना संक्रमणमुक्त भएका छन् ।

अघिल्लो साता अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपालीमध्ये अधिकांश संक्रमणमुक्त भएपनि यो साता त्यहाँ संक्रमणदर केही बढेको छ । यस्तै यूएई, कतार, कुवेत र साउदी अरबमा रहेका नेपालीमा पनि यो साता संक्रमण बढेको छ ।

संघका अनुसार नेपालमा ज्यान गुमाएका ४५ जनासहित विश्वभर ज्यान गुमाउने नेपालीको संख्या २ सय ६ जना पुगेको छ । नेपालमा शनिबार साँझसम्म संक्रमितको संख्या १८ हजार ४ सय ८३ जना पुगेको छ ।

यसैबीच स्वास्थ्य समितिले सार्वजनिक स्थलमा जाँदा, र सवारी साधन प्रयोगका क्रममा अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड सम्बन्धमा विशेष मार्गदर्शन समेत तयार पारेको छ ।

समितिले सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न समेत सुझाएको छ । विभिन्न मुलुकमा निधन भएका ९४ नेपालीको शव अझै नेपाल ल्याउन नसकिएको गैर गैरआवासीय नेपाली संघले जनाएको छ ।


  •  
  •  
  •