कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ३० पुग्यो

341
  •  
  •  
  •  

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अछाम रामारोशन गाउँपालिका –५ का ४५ वर्षीय पुरुष रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उनको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरे ।

उनको असार १४ गते वयलपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । उनलाई असार १३ गते श्वास प्रश्वासमा समस्या आएपछि उपचारका लागि वयलपाटा अस्पताल लगिएको थियो ।

उनी मधुमेहका बिरामी रहेको बताइएको थियो । उनको मृत्यु भएको दोस्रो दिन स्वाब संकलन गरिएको र उनको असार १६ गते कोरोना पुष्टि भएको छ । बिरामीसँगै कुरुवा रहेका दुईजनाको भने कोरोना संक्रमण रिपोर्ट नेगेटिभ आएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेमा सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्ध रहेका छन् ।

त्यसैगरी ललितपुर महानगरपालिका वडा नं.२२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका(९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ ।

यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिका–१ हाँसेका २८ वर्षीय पुरुष, कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ वर्षीया महिला, स्याङ्जाका ५८ वर्षीय पुरुष, भरतपुर नगरपालिका–११ बस्ने ६८ पुरुषको मृत्यु भएको छ ।

त्यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर–४ का ५७ वर्षका पुरुष, बाराका एक पाँच वर्षे बालक, वीरगंजमा वेवारिसे भेटिएका एक पुरुष, गुल्मी धुर्कोट–४ जैसीथोकका एक २६ वर्षीय पुरुष र बाँकेको बैजनाथ गाउँपालिका ६ की ४६ बर्षीया महिला, कैलालीको गोदावारी नगरपालिका–४ का ४६ वर्षीय पुरुषको मृत्यु भएको छ ।

त्यस्तै कैलालीकै लम्कीचुहाकी ४३ वर्षकी महिला, ६९ वर्षका गुल्मी छत्रकोटका एक जना पुरुष, दैलेख–३ दुल्लुका एक जना ४५ वर्षीय पुरुष, स्याङ्जाका ५५ वर्षीय पुरुष, ललिपुरको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएक एक पुरुष, दाङमा अचेत अवस्थामा भेटिएर मृत्यु भएकी महिला र चितवन मेडिकल कलेजमा मृत्यु भएका कैलाली गोदावरी–७ का ५० वर्षीय पुरुष र ललितपुरको स्टार अस्पतालमा रौतहटका ३० वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भइसकेको छ ।


  •  
  •  
  •