कोरोना भाइरस

77
  •  
  •  
  •  

लाग्थ्यो यो पृथ्वीमा
एउटा मायावी दानव छ
जो व्युझिए पछि
मचाउने छ पृथ्वीमा ताण्डब

रुपा थापा

फेरि लाग्थ्यो
मन्दीर,मस्जीद,गुम्वा अनि चर्च
विश्वासको एउटा धरोहर
जस्ले बचाउनेछ हरेक सङ्कटबाट
बचाउनेछ मान्छेहरुलाई मायावी त्यो दानवबाट ।

ऊ आयो चिनको वुहानबाट
एउटा अद्रृष्य कोरोना भाइरस बनेर
मान्छेहरुको बस्तीमा
एउटा अघोषित युद्धको घोषणा गर्दै

अणुबमहरुलाई काखीमा च्यापेर
आफ्नै चिहानमा मस्तसंग निदाइरहेका मान्छेहरू
आखिर किन डराउदै थिए
अद्रृष्य त्येा कोरोनाभाइरससँग ।

एउटा अद्रृश्य भाइरस
जो आज चुनौती दिँदैछ
एउटा मायावी दानव बनेर
मान्छेका धैर्यताहरुलाई
मान्छेका विश्वासहरुलाई
अनि सारा विश्वलाई नै ।

विज्ञान आफैमा सोच मग्न छ
रातभर उसको प्रयोगशालाबाट
निभेको छैन राता बत्तीहरू
किनकि उसलाई थाहा छ
उसको प्रयोगशालाले हार्यो भने
हार्ने छ यो विश्वले एउटा विश्वयुद्ध ।

मन्दीर मस्जिद गुम्वा अनि चर्चबाट
सबैभन्दा पहिला
भाग्दा रहेछन ईश्वरका पाइलाहरू
त्यसैले त ऊ
साम्यवाद देखि साम्राज्यवादसम्मको
जरालाई एक्लै हल्लाउँदै
घोषणा गर्दै छ एउटा विश्वयुद्धको ।

विभेद गर्दैन उसले मान्छेले झै
धनी गरीब काला गोरा
मात्र ऊ मान्छेको शरीर देख्छ
ऊ त्यो शरीर भित्र मान्छे बाहेक अरु केही देख्दैन
तर म मान्छे
मान्छेका शरीर भित्र विभिन्न जात देख्छु
त्यसैले दयालुलाग्छ ऊ मलाई
निर्दयी यी मान्छेहरुका भीडमा ।

मायावी दानव
व्युझिएर मान्छेको बस्तीमा पसेर
एउटा यक्ष प्रश्न गर्दै छ ।
आणविक हतियारको भट्टीमा
बेहोस भएर लडेका ए मान्छेहरू
म त्यति क्रृर छैन
जति तिमीहरू छौँ ।

(नेत्रहीन महिला संघ नेपालले १ सय ४० औं अन्तर्राष्ट्रिय हेलेन केलर जयन्तीको अवसरमा आयोजना गरेकाे खुल्ला कविता वाचन प्रतियोगितामा यो कविता तृतिय भएको थियो ।)


  •  
  •  
  •