नेपालमा कोरोना संक्रमणबाट थप दुईको मृत्यु, मृत्यु हुनेको संख्या २६ पुग्यो

331
  •  
  •  
  •  

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५५ वर्षीय पुरुष र ललितपुरको पाटन अस्पतालमा ५० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसियुमा ८ असारमा भर्ना भएका स्याङ्जाका ५५ वर्षीय पुरुषको बुधबार राति मृत्यु हो । उनी निमोनिया र मधुमेह रोगबाट पीडित थिए । उनको बिहीबार शव व्यवस्थापन गरिएको छ ।

यस्तै ललितपुरको पाटन अस्पतालमा बिहीबार ५० वर्षीय पुरुषको मृत्यु भएको हो । चितवन घर भएका उनको पाँच महिना अघि मिर्गौला प्रत्यारोपण भएको थियो ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले उनमा कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसनमा राखेर उपचार गरिँदै आएको बताए ।

मन्त्रालयका अनुसार यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।

त्यसैगरी ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ ।

यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिका-१ हाँसेका २८ वर्षीय पुरुष, कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ वर्षीया महिला, स्याङ्जाका ५८ वर्षीय पुरुष, भरतपुर नगरपालिका-११ बस्ने ६८ पुरुषको मृत्यु भएको छ ।

त्यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर–४ का ५७ वर्षका पुरुष, बाराका एक पाँच वर्षे बालक, वीरगंजमा वेवारिसे भेटिएका एक पुरुष, गुल्मी धुर्कोट-४ जैसीथोकका एक २६ वर्षीय पुरुष र बाँकेको बैजनाथ गाउँपालिका ६ की ४६ बर्षीया महिला, कैलालीको गोदावारी नगरपालिका–४ का ४६ वर्षीय पुरुषको मृत्यु भएको छ ।

त्यस्तै कैलालीकै लम्कीचुहाकी ४३ वर्षकी महिला, ६९ वर्षका गुल्मी छत्रकोटका एक जना पुरुष र दैलेख–३ दुल्लुका एक जना ४५ वर्षीय पुरुषको गरी २४ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।


  •  
  •  
  •