नेपालमा थप ५ सय ३५ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुग्यो

99
  •  
  •  
  •  

काठमाडौं । नेपालमा सोमबार थप ५ सय ३५ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ सय ३५ जना कोरोना संक्रमित थपिएका हुन् ।

आज थपिएकामध्ये ७४ महिला र ४ सय ६१ पुरुष रहेका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ । नेपालमा यसअघि बिहीबार ६ सय ७१ जना कोरोना संक्रमित थपिएका थिए । शुक्रबार ४ सय २६ कोरोना संक्रमित थपिएका थिए भने शनिबार ३ सय ३१ संक्रमित थपिएका थिए । आइतबार ४ सय २१ कोरोना संक्रमित थपिएका थिए ।

स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमले देशभरका ७६ जिल्लामा कोरोना संक्रमण फैलिएको बताए । उनका अनुसार हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि एक हजार १ सय ४२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट ३ सय ७० डिस्चार्ज भएका छन् । जसमा ३२ महिला र ३३८ पुरुष रहेका छन् ।

हालसम्म देशभरका २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।

देशभर हालसम्म एक लाख ८१ हजार ३७१ जनाको पीसीआर परीक्षण गरिएको छ भने दुई लाख ६८ हजार १०३ जनाको आरडीटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ६ हजार १९८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका विभिन्‍न क्‍वारेन्टिनमा ९० हजार ७३० मानिसहरु रहेका छन् भने आइसोलसनमा ७ हजार ७८९ कोरोना संक्रमितहरु रहेका छन् ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ ।


  •  
  •  
  •