सुत्केरीमा कोराना संक्रमण देखिएपछि तीन गाउँ सिल

228
  •  
  •  
  •  

गुल्मी । गुल्मीमा सुत्केरी महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि गुल्मीदरबार गाउँपालिका तीनवटा गाउँ पूर्ण सिल गरिएको छ । सो गाउँपालिका–७ की २१ वर्षीया सुत्केरीमा शनिबार कोरोना पुष्टि भएपछि अन्य व्यक्तिको स्वाब परीक्षण रिपोर्ट नआउँदासम्म उक्त वडाका तीनवटा गाउँ सिल गरिएको हो ।

सुत्केरीको प्रत्यक्ष सम्पर्कमा रहेका अन्य व्यक्तिहरुको आजदेखि कन्ट्याक ट्रेसिङको प्रक्रिया शुरु गर्न थालेको छ । सो गाउँपालिका–७ अन्तर्गतका रोटेपानी, उखाप र रिपाहाका बासिन्दालाई सार्वजनिक रुपमा सूचना जारी गरी अत्यावश्यक कामबाहेक कोही पनि मानिसलाई घरबाहिर ननिस्किन तथा बाहिरी मानिसलाई समेत गाउँ प्रवेशमा रोक लगाइएको छ । ती महिलालाई आरडिटी पोजेटिभ देखिएपछि गत साता आइतबार लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा रिफर गरिएको थियो । लुम्बिनी मेडिकल कलेज प्रभासबाट स्वाब सङ्कलन गरेर भैरहवा पठाएकामा शनिबार पिसिआर रिपोर्ट पनि पोजेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सुत्केरीका श्रीमान् गत जेठ ११ गते भारतबाट घर आएका थिए । भारतबाट आएर १४ दिनसम्म क्वारेन्टिनमा बसेपछि उनको आरडिटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनलाई जेठ २७ गते घर पठाइएको थियो । क्वारेन्टिनबाट घर गएको ११ दिनपछि उनकी श्रीमतीमा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको गाउँपालिकाले जनाएको छ ।


  •  
  •  
  •