नेपालमा थप एक जना कोरोना संक्रमणबाट मृत्यु, मृत्यु हुनेको संख्या ५ पुग्यो

111
  •  
  •  
  •  

काठमाडौं । नेपालमा थप एक जना कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको पुष्टि गरेका हुन् ।

मृत्यु हुनेमा ललितपुर महानगरपालिका २२, बुङ्‌मतिका ५६ वर्षीय पुरुष रहेका छन् । उनको बुधबार निधन भएको हो ।

कलेजो संक्रमणका बिरामी ती पुरुष गत जेठ १२ गते किस्ट अस्पताल भर्ना भएका थिए। किस्ट अस्पतालमा भर्ना भएका उनको स्वाब संकलन गरिएर परीक्षणका लागि टेकु पुर्‍याइएको थियो। रिपोर्टमा उनमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ । नेपालमा यसअघि सिन्धुपाल्चोक, बाँके, गुल्मी र बारामा कोरोना संक्रमणका कारण चारजनाको मृत्यु भइसकेको छ।


  •  
  •  
  •