थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४ सय ५३ पुग्यो

65
  •  
  •  
  •  

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट थप ९ जना संक्रमित थपिएका छन् । झापामा ८ जना र रुपन्देही मा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा झापाको कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको समेत उनले बताए ।
बिहीबार बिहान मात्र नेपालमा १७ जनामा कोरोना संक्रमित फेला परेका थिए ।
नेपालमा योसँगै संक्रमितको संख्या ४ सय ५३ पुगेको छ । जसमा ३ सय ८३ पुरुष र ७० महिला छन् । अहिलेसम्म नेपालका ३८ जिल्लामा कोरोना संक्रमण पुगेको पाइएको छ । आज थप ४ जना डिस्चार्ज भएका छन्। उनीहरु संक्रमणको नवौं दिनमा डिस्चार्ज भएका हुन् ।

संक्रमण पुष्टि भएकामध्ये हालसम्म ४९ जना निको भएका छन् । हालसम्म सिन्धुपाल्चोकमा एक र बाँकेमा एक, गुल्मीको एक गरी ३ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा आरडीटी विधिबाट ७८ हजार ६ सय ९५ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ३८ हजार ७ सय ३६ परीक्षण भएको छ ।


  •  
  •  
  •