गुल्मीका कोरोना संक्रमित शिक्षकको मृत्यु

72
  •  
  •  
  •  

काठमाडौं । कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट बिहीबार थप एक जनाएको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

मृत्यु हुनेमा गुल्मीका ४१ वर्षीया पुरुष रहेका छन् । रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा उनको बिहीबार बिहान मृत्यु भएको हो ।

अस्पतालले मृत्युको जानकारी गराएपछि पाँच नम्बर प्रदेश सरकारले शव ब्यवस्थापनको तयारी अघि बढाएको छ ।
संक्रमितको शव नेपाली सेनाले व्यवस्थापन गर्ने बताइएको छ । बुधबार संक्रमितको मृत्यु भएको हल्ला फैलिएपछि अस्पतालले विज्ञप्ति जारी गर्दै मृत्यु नभएको जनाएको थियो ।

मृत्यु्को विषयमा विस्तृत विवरण भने स्वास्थ्य मन्त्रालयले बिहीबारको नियमित पत्रकार सम्मेलनमा सार्वजनिक गर्ने बताइएको छ । मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षीय शिक्षकमा गत जेठ पाँच गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उनी त्यसको एक दिन अघि अस्पतालमा भर्ना भएका थिए । त्यसयता उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

रुघाखोकी र जण्डिसको समस्या लिएर अस्पताल पुगेका उनीमा संक्रमण कसरी फैलियो भन्ने अझै खुलेको छैन । रुपन्देहीमा भर्ना हुनुअघि उनी उपचारका लागि पुगेका अर्घाखाचीको छाया पोलिक्लिनिक सील गरिएको छ ।

मणिग्रामस्थित क्रिमसन अस्पतालमा नजिकको सम्पर्कमा रहेका तीन जना आफन्त, डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मी गरी थप २९ जनाको पनि स्वाब संकलन गरिएको छ । उनको नजिकको सम्पर्कमा देखिएका अर्घाखाँचीका १० र गुल्मीमा ३० जनाको पनि स्वाब संकलन गरिएको छ ।

उनको मृत्युसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । यसअघि बाँके र सिन्धुपाल्चोकमा एक–एक जनाको मृत्यु भएको थियो ।


  •  
  •  
  •