मलेसिया र खाडी देशमा कोरोना: सङ्क्रमित नेपालीको सङ्ख्या २९ पुग्याे

120
  •  
  •  
  •  

काठमाडौं । मलेसिया र खाडीका देशमा कोरोना सङ्क्रमित नेपाली श्रमिकको सङ्ख्या २९ पुगेको छ ।

हालसम्म बहराइनमा १२, यूएईमा ११, साउदीमा ४, कुवेतमा १ र मलेसियामा १ जना गरी जम्मा २९ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण भएको पाइएको छ ।

यूएईमा दुई जना निको भइसकेका छन् । ९ जनाको अस्पतालमा उपचार भइरहेको छ । खाडी देशमा सङ्क्रमण बढ्न थालेपछि अहिले त्यहाँको सरकारले पनि सुरक्षा सतर्कता बढाएको छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अरब इमिरेट्स (यूएई)का युवराज शेख मोहम्मद विन जायेद अल नायनसँग यूएईमा कार्यरत नेपाली श्रमिकको सुरक्षा र उपचारबारे चासो व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले विदेशमा कार्यरत नेपालीको अवस्थाबारे सम्बन्धित देशका सरकार प्रमुख वा प्रतिनिधिसँग संवाद गर्ने क्रममा युवराज शेख मोहम्मदसँग टेलिफोनमा कुरा गरेका हुन् । युवराज शेखले नेपाली श्रमिकले यूएईका नागरिक सरह उपचार पाउने बताएको प्रधानमन्त्रीले ट्वीटमार्फत जानकारी दिएका छन् ।

सोमबार साँझ भएको टेलिफोन कुराकानीमा प्रधानमन्त्री ओलीको चासोमा युवराज शेखले नेपालीहरू इमान्दार र परिश्रमी भएको बताउँदै उनीहरूले यूएईको आर्थिक विकासमा पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए ।


  •  
  •  
  •