शनिबार एकैदिन ६८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या पाँच सय ८४ पुग्यो

65
  •  
  •  
  •  

काठमाडौं । शनिबार एकैदिन ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमितहरुको सङ्ख्या पाँच सय ८४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बाँके नरैनापुरका २७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

नरैनापुर मदरसाका १७ देखि ३२ वर्षका ६ जना, नरैनापुर राष्ट्रिय प्रावि गेगलीका १६ देखि ३२ वर्षका १५ जना र राष्ट्रिय प्रावि महातानियाका २२ देखि ५० वर्ष उमेर समूहका ६ जनालाई सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडीका चार जनालाई सङ्क्रमण भएको पुष्टि भएको छ । उनीहरुमध्ये दुई जना २० वर्षका छन् भने २२ र २७ वर्षका एकएक जना रहेको मन्त्रालयले जनाएको छ ।

उनीहरुमा चारै जनामा आरडीटी पोजेटिभ भएपछि पीसीआर परीक्षण गर्दा पनि पोजेटिभ देखिएको हो । त्यस्तै सुर्खेतमा दुई जना पुरुष र एक जना महिलामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस्तै कोशी अस्पतालमा झापाका ३३ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।

बर्दिया बडैयाताल ७ का एक जना पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको छ । यस्तै सर्लाहीका १३, कपिलवस्तु र रुपन्देहीका आठरआठ, बारा चितवन र काठमाडौंका एक एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमितमध्ये अहिलेसम्म ७९ जना उपचारपछि निको भएको छन् भने तीन जनाको ज्यान गएको छ । मन्त्रालयका अनुसार नेपालमा हालसम्म ४५ हजार ९५९ जनाको पीसीआर परीक्षण गरिएको छ भने ८६ हजार २३५ जनाको आरडीटी परीक्षण गरिएको छ । हालसम्म ३२ हजार ५८७ क्वारेन्टाइनमा रहेका छन् । ५ सय ११ जना आइसोलेसनमा रहेका छन् ।


  •  
  •  
  •