विश्वका कारोना संक्रमित देशहरुमध्ये भारत तेस्रो स्थानमा

संक्रमितको संख्या ६ लाख ९७ हजार ४ सय १३ पुग्याे
115
  •  
  •  
  •  

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमित देशहरुमध्ये भारत तेस्रो स्थानमा रहेको छ । भारतमा गत तीन दिनयता नयाँ सङ्क्रमितको संख्या तीब्र बनेको छ ।

हाल सबभन्दा धेरै सङ्क्रमितको सङ्ख्या अमेरिकामा र त्यसपछि ब्राजिलमा पाइएको छ। त्यसपछि भारत रहेको छ ।
अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार भारतमा कोरोना संक्रमितको संख्या ६ लाख ९७ हजार ४ सय १३ पुगेको छ ।

भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९ हजार ६ सय ९३ पुगेको छ । ४ लाख २४ हजार ४ सय ३३ जना उपचारपछि निको भएका छन् ।

भारतको स्वास्थ्य मन्त्रालयले दिएको आँकडा अनुसार आइतबारमात्रै भारतमा झन्डै २५ हजार नयाँ सङ्क्रमित थपिएका थिए।

विज्ञहरूले भारतमा सङ्क्रमणको यथार्थ चित्र अझै थाहा नभएको बताएका छन्। अधिकारीहरूले सङ्क्रमण रोक्न विभिन्न प्रयत्न गरिरहेका छन्। दिल्लीमा ठूलो भाइरस स्याहार केन्द्र खोलिएको छ।

देशभरिमा सबैभन्दा प्रभावित मध्येको दिल्लीमा १० हजार शैय्याको उक्त स्याहार केन्द्रमा सामान्य लक्षण देखिएका वा लक्षण नदेखिएका तर सङ्क्रमण पुष्टि भएकाहरूलाई उपचार गरिने छ।

स्थानीय सञ्चार माध्यमहरूका अनुसार झन्डै बीसवटा फुटबल मैदानजत्रो उक्त केन्द्र विश्वकै सबभन्दा ठूलो कोरोनाभाइरस केन्द्र हो। भाइरस सङ्क्रमण फैलँदै गर्दा भारतको एक प्रमुख पर्यटन आकर्षण ताज महल आगन्तुकका निम्ति सोमबारदेखि खुला गर्ने योजना पनि अहिलेलाई स्थगित गरिएको छ।

भारतमा सबैभन्दा धेरै सङ्क्रमितहरूको सङ्ख्या पश्चिमी महाराष्ट्र राज्यमा पाइएको छ। त्यहाँ कुल सङ्क्रमितको सङ्ख्या दुई लाख नाघेको छ।

अन्य देशमा कति ?

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको २८ लाख ८८ हजार ६ सय ३५ जना पुगेको छ । १ लाख २९ हजार ९ सय ४७ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ९ लाख ६ हजार ७ सय ६३ जना उपचारपछि निको भएका छन् ।

संक्रमितको संख्यामा ब्राजिल दोस्रो स्थानमा छ । त्यहाँ १६ लाख, ३ हजार ५५ जना संक्रमित भएका छन् । त्यसमध्ये ६४ लाख ८ हजार ६७ जनाको मृत्यु भएको छ । १० लाख २९ हजार ४५ जना उपचारपछि निको भएका छन् ।

चौथो स्थानमा रहेको रुसमा ६ लाख ८० हजार २ सय ८३ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये १० हजार १ सय ४५ जनाको मृत्यु भएको छ । ४ लाख ४९ हजार ९ सय ९५ जना उपचारपछि निको भएका छन् ।

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १ करोड १४ लाख ४९ हजार ७ सय ७ पुगेकाे छ । कोभिड–१९ बाट ज्यान गुमाउने संख्या ५ लाख ३४ हजार २ सय ७३ पुगेको छ । विश्वभर ६१ लाख ७९ हजार ४८ जना उपचारपछि निको भएका छन् ।


  •  
  •  
  •