नेपालमा २४ घण्टामा ४ सय ५१ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ६ हजार नाघ्यो

268
  •  
  •  
  •  

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ५१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.जागेश्‍वर गौतमले नयाँ कोरोना संक्रमितमा ४१६ पुरुष र ३५ महिला रहेको बताए । यो दैनिक थपिनेको संख्यामा अहिलेसम्मकै उच्च वृद्धि हो ।

योसंगै नेपालमा कोरोना संक्रमितको संखया ६ हजार २११ पुगेको छ । देशभरका ७३ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

नयाँ संक्रमितमा विरगञ्जमा भएको परीक्षणमा ११ जना, पोखरामा गरिएको परीक्षण ५ जना, सेती अस्पतालमा भएको परीक्षणमा ९ जना, भेरी अस्पताल प्रयोगशालामा २४ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भएको परीक्षणमा ५ जना, जनकपुरमा गरिएको परीक्षणमा २४ र भरतपुर अस्पतालमा भएको परीक्षणमा ७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै रुपेन्देहीमा ७ जना, विराटनगरमा २५ जना, सुर्खेतमा भएको परीक्षणमा १ सय ७ जना, धुलिखेल अस्पतालमा ५ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठन दाङमा ४३ जना, शिक्षण अस्पतालमा १ जना, हेटौडामा २५ जना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १०, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा ३ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १ सय ३९ जनामा पोजेटिभ देखिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म देशभरका २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।
देशभर कोरोना संक्रमित उपचारपछि एक हजार ४१ जना डिस्चार्ज भएका छन् । जसमा १०४ महिला र र ९३७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा ६७ जना डिस्चार्ज भएका छन् । जसमा ६० पुरुष र ७ महिला रहेका छन् ।

देशभर हालसम्म एक लाख ३८ हजार ६८३ पीसीआर परीक्षण गरिएको छ भने २ लाख १९ हजार ३३६ जनाको आरडीटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ३०६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका विभिन्‍न क्‍वारेन्टिनमा १ लाख ३३ हजार ८२९ मानिसहरु रहेका छन् भने आइसोलसनमा ५ हजार १५१ कोरोना संक्रमितहरु रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा भने नेपालमा कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन् । नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १९ रहेको छ ।


  •  
  •  
  •