सुर्खेतको बसाई, काठमाडौंको बिल

72
  •  
  •  
  •  

काठमाडौं १५ भदौ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पदाधिकारीहरुले सुर्खेतमै रहदा कामको सिलसिलामा काठमाडौ गएको भनी रकम भुक्तानी लिएको भेटिएको छ । उपकुलपति, रजिष्ट्रार लगायतका पदाधिकारीहरुले विश्वविद्यालय कार्यालय सुर्खेतमा रहेको मितीमा काठमाडौंको भ्रमणभक्ता बुझेका हुन् ।

उपकुलपति पदमलाल देवकोटाले कार्यालयमै हाजिर भनेको बेलामा काजमा खटेको देखाई भ्रमण विल स्विकृत गराएका हुन् । उनले २०६८ कार्तिक ३० गते ३५ हजार ५ सय, चैत ५ गते ९१ हजार, २०६९ असार २६ गते ४५ हजार ५ सय बुझेका छन् । ‘काज भ्रमणका नाममा उनले जुन मितीमा भुक्तानी लिए, त्यही मितीमा सुर्खेत कार्यालयमा पनि हाजिर छन्’ छानविन प्रतिवेदनमा उल्लेख छ । उनले सुर्खेतमै हाजिर भएको बखत विभिन्न मितीमा ७ लाख २३ हजार रुपैंया बुझेको पुष्टि भएको छ ।

विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीहरुलाई ७ दिनभन्दा बढी काजमा खटाउन नमिल्ने नियम कार्यकारी परिषदले पारित गरेको छ । तर आफै सहभागी बैठकको निर्णय मिच्दै पदाधिकारीहरुले महिनौको काज देखाएका हुन् । रजिष्ट्रार ठकेन्द्र प्रकाश गिरीले आमाको निधन भएपछि विदामा बस्दा समेत स्रोतसाधनको दुरुपयोग गरेको प्रतिवेदनमा उल्लेख छ । ‘आमाको काजकिरीयामा जादाको अवधिमा दैनिक भ्रमणभत्ता र किरीयाविदा दुवै सुविधा लिएको कागजातबाट पुष्टि भएको देखिन्छ’ अख्तियारले तयार पारेको प्रतिवेदनमा भनिएको छ ।

गिरीले सुर्खेत रहदाकै अवधिमा काठमाडौंस्थित सम्पर्क कार्यालयमा रहेको देखाई पटक पटक भुक्तानी लिएको भेटिएको छ । सम्पर्क कार्यालयमा काजमा खटिएको देखाई उनले सोही अवधिमा सुर्खेत कार्यालयमा हाजिर पनि गरेको भेटिएको छ । हरेक काजको विवरणमा होटल बासको विल पेश गरेका उनले पटक पटक गरी ४ लाख ११ हजार रुपैंयाको फर्जी विल बनाएको छानविनबाट खुलेको छ ।

सेवा आयोगका अध्यक्ष नवराज कणेलले पनि नक्कली विलका भरमा ३३ हजार, आयोग सदस्य श्रीरामप्रसाद उपाध्यायले ३४ हजार, कार्यकारी परिषदका सदस्य केशरसिं रानाले १ लाख ३० हजार दुरुपयोग भएको प्रतिवेदनमा उल्लेख छ । व्यवस्थापन संकायका डीन मस्तबहादुर गरञ्जाले ५ लाख १८ हजार रुपैंयाको फर्जी विल पेश गरेका छन् ।

सुर्खेतमा रहेको विश्वविद्यालयमा रहने पदाधिकारीले काठमाडौं सम्पर्क कार्यालयलाई आधार बनाई रकम दुरुपयोग गरेको भेटिएको हो । वर्षको ५/६ पटक काजका लागि काठमाण्डौं आउने पदाधिकारीहरुले त्यसअवधिमा काज, भ्रमणभत्ता, होटलबासको फर्जी विल पेश गरेका हुन् । यसक्रममा विश्वविद्यालयको सवारीसाधनमा प्रयोग भएको भनी इनधनको विल पनि पेश भएको छ ।

इञ्जिनियरिङ संकायका डिन रामचन्द्र अर्याल, मानविकी संकायका डिन पिताम्बर ढकाल, शिक्षा डिन लालमणी आचार्य लगायत उपप्राध्यापक सुधन गौली, गणेश रावत लगायतले पनि फर्जी विल पेश गरेको अख्तियारले जनाएको छ ।

सबैभन्दा बढी फर्जी कागजात तयार गरेका लेखा नियन्त्रक कमल केसीले २०६९ सालमा मात्रै ८ महिना (२ सय ४० दिनभन्दा बढी)को काज पेश गरेका छन् । उनले मात्रै ४ लाख ९२ हजार रुपैंयाको फर्जी विल पेश गरेको खुलेको छ ।
कान्तिपुरबाट


  •  
  •  
  •