फेरि सात लाखको रक्‍सी चोरी! कसले पिउँछ यति धेरै ?

68
  •  
  •  
  •  

काठमाडौं, १ कात्तिक ।
कूटनीतिक नियोग तथा सरकारी प्रयोजनका लागि भन्सार छूट (ड्युटी फ्री) मा आयात उच्चस्तरका महँगा मदिरा नेसनल ट्रेडिङ लिमिटेडका कर्मचारीले गायब पारेका छन्। ट्रेडिङको रामशाहपथस्थित ‘बन्डेड वेयर हाउस तथा ड्युटी फ्री पसल केन्द्र’ बाट यसपटक करिब सात लाख मूल्यबराबरको मदिरा चोरी भएको हो।

ड्युटी फ्रीमा ल्याइने मदिरा राजधानीस्थित विदेशी कूटनीतिक नियोगले खरिद गर्दै आएका छन्। बन्डेड वेयर हाउसबाट महँगा रक्सी हराएको यो पहिलोपटक भने होइन। यसअघि पनि ट्रेडिङमा कार्यरत कर्मचारीको मिलोमतोमा २३ लाख रुपैयाँभन्दा बढीको मदिरा हिनाममिना भएको समाचार अन्नपूर्ण पोस्ट्ले गत फागुन पहिलो साता ‘कसले पियो एक्‍काईस लाखको रक्सी?’ शीर्षकमा छापेको थियो।

आन्तरिक छानबिनका क्रममा त्यतिबेला सात प्रकारका एक हजार ९० थान उच्चस्तरका रक्सी बन्डेड वेयर हाउसबाट गायब पारिएको तथ्य बाहिर आएको थियो। यसपटक पनि आन्तरिक छानबिनका क्रममा वेयर हाउसको गोदाम नम्बर १६, १७, ४४, ५३ र ५४ बाट भ्याटसहित ६ लाख ८८ हजार दुई सय २३ रुपैयाँबराबरको दुई सय ४५ बोतल उच्चस्तरको वाइन, ह्विस्की र बियर गायब भएको पाइएको हो।

विभिन्न निकायका १४ जना रहेको टोलीले गत जेठ २५ मा वेयर हाउसमा छानबिन गरी भदौ ३१ गते बुझाएको प्रतिवेदनमा सुपरभाइजर दीपेन्द्र अधिकारीको जिम्मा रहेको गोदामबाट महँगा रक्सी हराएको उल्लेख छ।

ट्रेडिङ स्रोतअनुसार अघिल्लोपटक मदिरा गायब भएको विषयमा छानबिन हुँदा दोषी देखिएका अधिकारीको जिम्मामा रहेको गोदामको लगत नबुझ्दै ट्रेडिङले ‘हानिनोक्सानी’ को अभियोगमा ०७१ जेठ ४ गते उनलाई सेवाबाट बर्खास्त गरेको थियो।

रक्सी चोर्ने विरुद्ध आरोपप्रत्‍यारोप
ड्युटी फ्रीमा आयात गरिएका उच्चस्तरका महँगा रक्सी हिनामिना गर्ने नेसनल ट्रेडिङ लिमिटेड बन्डेड वेयर हाउसका प्रमुख भरतबहादुर बस्नेतसहित तीन कर्मचारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा असोज ४ गते आरोपपत्र दायर गरेको छ।

आयोगले मिलोमतो गरेर भ्रष्टाचार गरेको ठहर गर्दै बन्डेड वेयर हाउसका तत्कालीन प्रमुख बस्नेत, तत्कालीन स्टोरकिपर ऋषिराम जोशी र दीपेन्द्र अधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार निवारण ऐनअनुसार २४ लाख ८८ हजार नौ सय ८२ रुपैयाँ बिगो असुल र हदैसम्म कारबाही दाबी गर्न माग राखेर आरोपपत्र दायर गरेको हो।

विशेष अदालतका रजिस्ट्रार नातिबाबु लामिछानेले भने, ‘भरतबहादुर बस्नेत, स्टोरकिपर ऋषिराम जोशी र दीपेन्द्र अधिकारीको मिलोमतोमा रक्सी हराएको र नभएको रक्सीको पनि नक्कली फाइल खडा गरिएको अनुसन्धानका क्रममा खुलेको भन्दै आयोगले बिगोसहित आरोपपत्र दायर गरेको हो।’ अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •