कोपा अमेरिका फुटबल : अर्जेन्टिना क्वाटरफाइनलमा

241
  •  
  •  
  •  

एजेन्सी । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा अर्जेन्टिना क्वाटरफाइनलमा पुगेको छ ।  समूह ‘बी’बाट अर्जेन्टिना उप–विजेता बनेको छ भने कोलम्बिया विजेताको रुपमा क्वार्टरफाइनलमा प्रवेश गरेको हो । आइतबार राति भएको खेलमा अर्जेन्टिनाले कतारमाथि २–० को जित निकालेको थियो ।

पहिलो खेलमा कोलम्बियासँग पराजित भएको अर्जेन्टिना दोस्रो खेलमा पाराग्वेलाई बराबरीमा रोकेको थियो । कतारविरुद्ध अर्जेन्टिनका लौटारो जाभियर मार्टिनेजले चौथो मिनेटमै गोल गर्दै सुरुवाती अग्रता दिलाए ।

कतारका डिफेन्डरले आफ्नै पेनाल्टी क्षेत्रबाट क्लियर गर्न नसकेको बललाई नियन्त्रणमा लिँदै मार्टिनेजले गोल गर्न सफल भए । पहिलो हाफमा १ गोल गरेको अर्जेन्टिनाले दोस्रो हाफमा पनि एक गोल थपेको थियो ।

८२ औं मिनेटमा सर्जियो अग्युरोले पाउलो डिबालाको पासलाई सदुपयोग गर्दै टिमका लागि दोस्रो गोल गरेर जित निश्चित गरे ।

समूहको अर्को खेलमा कोलोम्बियाले पाराग्वेलाई १–० ले हरायो । कोलोम्बियाको जितमा गुस्ताभो क्वेलारले एकमात्र गोल गरेका थिए । जितसँगै कोलम्बिया पनि क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।


  •  
  •  
  •