सीमित व्यक्तिको मुठ्ठीमा सहकारी हुँदा बिकृती मौलाउँदै

179
  •  
  •  
  •  

विराटनगर, २० चैत (ओएनएस) : समुदायको विकासका नाममा सञ्चालन हुने सहकारीहरु फितालो कानुनका कारण मनोमानि रुपमा सञ्चालन हुने क्रम बढेको छ । फितलो कानुन कार्यान्वयन गर्ने नियमनकारी निकायले चासो नदिदा सहकारीहरुमा बिकृती बढदै गएको छ ।

पछिल्लो तीन महिनामा विराटनगरबाट दुई वटा सहकारी संस्थाका सञ्चालक भागे । विराटनगर–१४ मा रहेको गजलक्ष्मी बचत तथा ऋण सहकारी र विराटनगर –२१ मा रहेको नेसनल बचत तथा ऋण सहकारी संस्था सेयर सदस्यको रकम फिर्ता गर्न नसकेपछि भागेका हुन् ।

दुवै सहकारीका सञ्चालक फरार छन् । यी दुई त प्रतिनिधी हुन्, यसअघि विराटनगर–१४ मा नै रहेको मन्जुश्री बचत तथा ऋण सहकारी र ओरेन्टियल सहकारी भागेका थिए । मञ्जुश्री र ओरेन्टियल सहकारीमा मुद्दा अदालतीय प्रकृयामा छ, भने गजलक्ष्मी र नेसनल सहकारीलाई सेयर सदस्यको रकम फिर्ता गर्ने बताउँदै आएका छन् ।

सहकारीका सदस्य र निक्षेपकर्ताको करोडौं रुपैयाँ ठगेर गजलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरू फरार भएका हुन । शेयर सदस्य तथा सर्वसाधारणको बचत रकम ठगेर फरार भएका सञ्चालकहरूको प्रहरीले खोजी गरेपनि फेला पारेको छैन् । सहकारीका सञ्चालकहरूले दुई करोड लिएर फरार भएको बचतकर्ताहरूले दाबी गर्दै आएका छन् । सहकारीका अध्यक्ष रामबहादुर श्रेष्ठ,उपाध्यक्ष दिपेश मास्के, सचिव नारायणकाजी श्रेष्ठ र सदस्य सुजन थापा फागुन ७ गतेदेखि बेपत्ता भएको उजुरी जिल्ला प्रहरी कार्यालय मोरङमा परेको थियो ।

सहकारीका सञ्चालकहरू भागेको भाग्यै भएपछि बढी व्याज पाउने आशमा सो सहकारीमा बचत गर्ने बचतकर्ताहरूको सावा पनि गुम्ने अवस्था आएको सेयर सदस्यहरुले गुनासो गरेका छन् । सो सहकारीले सहकारी नियम विपरित सेयर सदस्य भन्दा बाहिर कारोवार गरेको छ । गजलक्ष्मीले कानुन विपरित २० रुपैया“मा खाता खोली सर्बसाधारणबाट समेत बचत सङ्कलन गर्दै आएको थियो ।

त्यस्तै, नेसनल सहकारीका अध्यक्ष र व्यावस्थापकले ५ लाख रुपैयाँ हिनामिना गरेर फरार भएको बुझिएको छ ।  दुवै सहकारीका सञ्चालकले सेयर सदस्यको रकम फिर्ता गर्ने बताउँदै आएका छन् । परिवारसहित भागेका गजलक्ष्मीका सञ्चालकहरु सेयर सदस्यको रकम फिर्ता गर्ने बताउँदै आएका छन् ।

सीमित व्यक्तिले असिमित व्यक्तिलाई शासन गर्ने सहकारी सस्थाहरु अव्यावस्थित भएका कारण सेयर सदस्यको रकम तिर्न नसकी भाग्ने गरेका छन् ।  सहकारी नितिको गलत व्याख्या र नियमनकारी निकायको कमजोरीका कारण सहकारी संस्थाहरु भाग्ने क्रम बढेको हो ।

अधिकांश सहकारीहरु नियम र कानुन भन्दा बाहिर गएका कारण सहकारीहरुमा बिकृती बढदै गएको डिभिजन सहकारी कार्यालय मोरङका प्रमुख दिलसेख राई स्वीकार गर्छन । उनि भन्छन, ‘अधिकांश सहकारीले नियम कानुन पालना गरेका छैनन् । नियमअनुसार एक व्यक्तीले एक भन्दाबढि सहकारीमा सदस्य हुन पाउदैन् । तर अधिकांशले दोहोरो सदस्यता लिएका छन् ।’

कानुन भएपनि कार्यान्वयन गर्न नसक्दा समस्या भएको उनको बुझाई छ । सहकारीले जति नै फट्याइ गरेपनि एक हजार ५ सय रुपैयाँ भन्दाबढि जरिवाना लिने डिभिजन कार्यालयलाई अधिकार छैन । ऐन नै फितलो भएका कारण सहकारीहरुमा विकृती फैलदै गएको छ । उनि भन्छन् ‘ केही सहकारी राम्ररी पनि चलेका छन् । अधिकांश सहकारीमा समस्या छ ।’

सेयर सदस्यभन्दा बाहिर गएर कारोवार गर्दा समस्या श्रृजना भएको हो । सहकारीहरुले आफना सेयर सदस् भन्दा बाहिरका स“ग कारोवार गर्न नपाउने व्यावस्था भएपनि सेयर सदस्य भन्दा बाहिरका सँगको कारोवारलाई नियन्त्रण गर्न नसक्दा सर्वसाधरण रकम जोखिमपूर्ण बन्दै गएको हो । प्रमुख राई भन्छन्, ‘ मोरङमा एक हजारसहकारी छन् । हामीसँग भएका सिमित स्रोत साधनले व्यावस्थापन गर्न मुस्किल छ । जिल्लामा २ जना अनुगमन गर्नेको दरवन्दी छ । सहकारी भने एक हजार ५९ वटा छन् ।’

आर्थिक बर्ष डिभिजन सहकारी कार्यालयले १२ वटा सहकारी सस्थाहरुको दर्ता खारेजी गरेको छ भने ४० वटाको दर्ता खारेजी प्रकृयामा रहेको राईले जानकारी दिए । कानुनअनुसार दर्ता भएको दुई बर्षसम्म कारोवार नगर्ने सहकारीलाई खारेज गर्ने प्रावधान छ ।


  •  
  •  
  •