‘गैर कुटनीतिक गतिविधिको जवाफ दिने नेतृत्व नैं भएन’

302
  •  
  •  
  •  

PM and Europin Deligrateकाठमाडौ, २८ चैत(ओएनएस) : नेपालमा विदेशीहरुले कुटनीतिक मर्यादा विपरितका गतिविधि गर्दा नेपालका अधिकारी देखि राजनीतिक दलका नेतासम्मले त्यसको उचित जवाफ दिएका छैनन् । एउटा सार्वभौम मुलकको सार्वभौम संविधानसभालाई नैं असफल भन्ने अर्थ लाग्नेगरी त्यसको विकल्पबारे प्रश्न उठ्दा त्यो संविधानसभा, संविधानसभा व्यवस्थापिका संसद्बाट निर्वाचित सरकार र परराष्ट्र मन्त्रालयले यसको खण्डन गरेका छैनन् ।

बुधबारदेखि नेपाल भ्रमणमा रहेको युरोपेली युनियनका सांसद्हरुको प्रतिनिधिमण्डलले संविधानसभाका अध्यक्षदेखि प्रधानमन्त्रीसम्मलाई भेटेर नेपालमा तेस्रो संविधानसभा चुनावको संभावनाबारे प्रश्न उठाएको छ । तर, न त प्रधानमन्त्री कार्यालयले त्यसको कुटनीतिक रुपमा खण्डन गरेको छ, न त संविधानसभाले नैं । बरू उनीहरु खुल्लेआम कुटनीतिक मर्यादा विपरितका भेटघाट गरिरहेका छन् ।

कुटनीतिज्ञहरुले भने नेपालका नेताहरूले नैं विदेशीलाई टाउकोमा टेकाएर निम्त्याएको परिस्थितिको संज्ञा दिएका छन् । ‘हाम्रा नेताहरुनैं कुटनीतिक मर्यादामा बस्दैनन्, विदेशीले बोलाएपनि नबोलाएपनि भेटघाटमा जान्छन्’ परराष्ट्र मामिलाका जानकार डा. भेषबहादुर थापाले भने, ‘हामीले नैं नेताहरुलाई सम्झाईदिन पर्यो भन्छौं हाम्रो कमजोरी पनि केलाउन आवस्यक छ ।’ उनले नेताहरूमा इच्छाशक्तिको अभाव देखिएको बताए ।

‘विदेशीहरुले संविधान जारी गर्नुपर्छ भन्नु एउटा कुरा हो, तर उहाँबाट दवावको भाषा प्रयोग नगर्नुस भन्नु पर्ने हो’ थापाले भने, ‘त्यो शाहस हाम्रा नेताले देखाएको देखिएन ।’

नेपालका तर्फबाट कुटनीतिक भूमिका समेत निर्वाह गरिसकेका प्रा. डा जयराज आचार्य त युरोपियनहरुले नेपालमा अस्थिरता निम्त्याउन अनेक प्रयत्न गरिरहेका दावी गरे । ‘नेपालमा अस्थिरता ल्याउने एउटा ठूलो प्रयास भइरहेको छ’ प्रा. डा आचार्यले भने, ‘यसअघि बेलायती राजदुतको संविधानमा धर्मान्तरणको व्यवस्था हुनुपर्छ भने र उनी बेलायतको परारष्ट्र सेवाबाटैै बर्खास्त समेत भए, यदी त्यो नगरेको भए युरोपियन राजदुतहरुले धर्मान्तरण अधिकारकै रुपमा संविधानमा राख्नुपर्छ भनेर विज्ञप्ती जारी गर्न लागेका थिए ।’ उनले त्यसले युरोपियनहरु नेपालमा अस्थिरता ल्याउन चाहन्छन् भनेर पुष्टी गरेको बताए ।

‘अहिले युरोपिएनहरुले अस्पष्ट र रहस्यमय प्रश्न उठाएका छन्’ प्रा. डा. आचार्यले भने, ‘सरकारले यस्तो असान्दर्भिक प्रश्न किन उठाएको भनेर स्पष्टीकरण सोध्नुपर्यो ।’

‘विगतमा जंगबहादुर र भिमसेन थापाहरुललाई समेत विदेशीले यस्तो यस्तो प्रश्न सोध्न सकेनन्’ आचार्यले भने, ‘अहिलेको प्रजातान्त्रिक रुपमा निर्वाचित नेताहरुले हैसियत समेत नहेरी विदेशीहरुलाई भेट्नु र जस्तासुकै प्रश्नको शिर निहुराएर जवाफ दिनु ठुलो कुटनीतिक कमजोरी हो ।’ उनले सांसद्हरुको प्रतिनिधि मण्डललाई राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतले भेट्नु नै कुटनीतिक मर्यादा विपरित भएको भन्दै यो परराष्ट्रका सहसचिव वा बढिमा सचिवले भेटबाट फिर्ता पठाउने प्रतिनिधिमण्डल भएको बताए ।

विदेशीहरुलाई कुटनीति मर्यादा विपरित भेट्नु नैं हामी कुटनीतिक रुपमा हेपिनु हो’, उनले भने, ‘झण्डै झण्डै हाम्रो नेताले मुलुकलाई असफल राष्ट्र बनाएको लक्षण हो ।’ अन्य देशमा विदेश मन्त्रालयका सहसचिवले यस्ता प्रतिनिधिमण्डललाई ‘डिल’ गर्ने भन्दै यहाँ त्यही विषयमा कमजोरी भएको उनले बताए । नेपालमा अस्थिरता र अन्योल काम रहदाको फइदा विदेशीले उठाइरहेको उनको भनाई छ ।

नेपाल भ्रमणमा आएको युरोपेली सांसद्हरुको टोलिले नेपालका सबै उच्च तहका निकाय, राष्ट्रपति, प्रधानमन्त्री, सभामुखसँग भेट गरे भने, अघोषित रुपमै राजनीतिक भेटवार्ता गरे । उनीहरुले शुक्रबार एक पाँच तोरे होटलमा पत्रकार सम्मेलन समेत गरे । नेपालका सन्दर्भमा यस्तो असान्दर्भिक प्रश्न किन उठाएको भन्ने पत्रकारको प्रश्नमा उनीहरुले ‘अघिल्लो संविधानसभा असफल भयो, यो संविधानसभा पनि असफल भयो भने के गर्ने भनेर मात्र प्रश्न गरेका हौं, हाम्रो त्यस्तो कुनै गलत मनसाय नभएको’ भन्दै बचाउ गरेका छन् ।

विदेशीहरुले यस्ता प्रश्न उठाउदा समेत हाम्रो देशका अधिकारीहरु भने जिम्मेवार रुपमा प्रस्तुत भएका छैनन् । प्रधानमन्त्रीसँग उनीहरुले भेट गर्दा परराष्ट्रमन्त्री तथा परराष्ट्र सचिव सहभागी भएनन् । यस्तै, उनीहरुले भेटको कार्यसूचीमा नैं नराखेका परराष्ट्र मन्त्रीले समेत उनीहरुसँग भेटवार्ता गरे । अहिले संविधानसभाका अध्यक्षले विदेशीले प्रश्न उठाएको सार्वजनिक गर्दा समेत परराष्ट्र मन्त्रालयले यसको विषयमा कुनै टिप्पणी गरेको छैन ।

युरोपेली सांसद्हरुको प्रतिनिधिमण्डलले शनिबार स्वदेश फर्कनुअघि नागरिक समाजका प्रतिनिधिहरुसँग भेट गर्दै छ । प्रतिनिधिमण्डलले नागरिक समाजका प्रतिनिधि देखि राजनीतिक भेटभाटसम्म गर्न पराष्ट्र मन्त्रालयको स्वीकृति मागेको छैन ।


  •  
  •  
  •