निर्माण छोडेर ठेकेदार बेपत्ता हुँदा स्वास्थ्य केन्द्रको भवन निर्माण अलपत्र

247
  •  
  •  
  •  

healt post bhajaniधनगढी, ८ मंसिर (ओएनएस) : ठेकेदारको लापरवाहीले कैलालीको भजनी–त्रिशक्ति नगरपालिकास्थित भजनी प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण कार्य अलपत्र परेको छ । भवन निर्माण गरिसक्नु पर्ने थपेको म्याद सकिएको एक बर्ष बितिसके पनि ठेकेदार सम्पर्कमा नआउँदा भवन निर्माण कार्य अलपत्र परेको हो ।

भवन निर्माणका लागि थपिएको म्याद २०७१ कार्तिकमा नै गुज्रिएपछि ठेकेदार काम छाडेर सम्पर्कमा नै नआएको भवन निर्माणको ठेक्का दिने शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीले जनाएको छ ।

‘एक बर्ष भयो, ठेकेदार सम्पर्कमा नै आएका छैनन् ।’ शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका डिभिजन प्रमुख जगदीश लामिछानेले भने, ‘करिब ६० प्रतिशत मात्रै काम सम्पन्न भएको छ, लामो समयदेखि ठेकेदार कम्पनीले काम गर्न आएको छैन ।’

स्वास्थ्य मन्त्रालय अन्तर्गतको उक्त कार्यालयको निर्माणका लागि शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीले टेण्डर आह्वान गरेको थियो । उक्त भवन निर्माणको ठेक्का डाँफे तुलसी दुर्गा जागृति जेभीले पाएको थियो । कम्पनी नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हो ।

२०७० साल असार मसान्तभित्र भवन निर्माण सकिनु पर्ने गरि भवन निर्माणको सम्झौता २०६८ असार ३१ गते भएको थियो । तोकिएको समयमा काम पुरा नभएपछि भवन निर्माण गरिसक्नु पर्ने समय २०७१ कार्तिकसम्म थप गरिएको थियो । तर, अहिलेसम्म करिब ६० प्रतिशत मात्रै काम पूरा भएको छ । तीन तले उक्त भवनको एक तला थप्ने, झ्याल ढोका राख्ने र फिनिसिङको काम बाँकी छ ।

डिभिजन प्रमुख लामिछानेले ठेकेदारको लापरवाहीले भवन निर्माणको काम अधुरो रहेको बताए । ‘ठेकेदार कम्पनीलाई काम गर्न पटक-पटक पत्राचार गर्दा पनि अझै काममा आएको छैन ।’ उनले भने, ‘२०७० मै सक्नुपर्ने योजना हो । २०७१ कार्तिकसम्मका लागि म्याद थप गर्दा पनि भवन बन्न सकेको छैन ।’
[box type=”shadow” ]प्राथमिक स्वास्थ्य केन्द्र भजनीको भवन निर्माण कार्य ६० प्रतिशत मात्र पूरा भएको छ

थपिएको म्याद गुज्रिएको पनि एक वर्ष पूरा

कम्पनीलाई कालो सूचिमा राख्ने तयारी [/box]

डिभिजन प्रमुख लामिछानेले सो कम्पनीलाई सम्पर्कमा आउन मंगलबार सार्वजनिक सूचना जारी गरिएको बताए । ‘ठेकेदार कम्पनीलाई सम्पर्कमा आउन आज १५ दिने सार्वजनिक सूचना जारी भएको छ ।’ उनले भने, ‘उक्त अवधिमा कम्पनी सम्पर्कमा आएर काम अघि बढाउन चाहे निर्माण कार्य अघि बढ्छ । होइन भने ठेक्का तोडेर कम्पनीलाई कालो सुचिमा राख्नका लागि कारबाहीको प्रकृया अघि बढ्छ ।’

कम्पनीले भवन निर्माणको काम गर्न इच्छुक भएर काम गरेमा ठेक्का सम्झौता सकिएको मिति देखिको हर्जना लगाएर गरिने उनले बताए । डिभिजन कार्यालयले यसअघि पटक–पटक निर्माण कम्पनीलाई पत्राचार गरेको जनाइएको छ ।

भ्याट बाहेक ३ करोड १७ लाख ५१ हजार १९ रुपैयाँमा निर्माण सम्झौता भएकोमा ठेकेदारले २ करोड ५२ लाख १३ हजार रुपैयाँ भुक्तानी लगिसकेको छ । डिभिजन कार्यालयले ६ करोड ४ लाख २९ हजार ८ सय ५४ रुपैयाँ स्टिमेट गरी टेण्डर आह्वान गरेको थियो ।

भवन निर्माण कार्य अलपत्र परेपछि अहिले शहरी विकास डिभिजन कार्यालयले ठेकेदारको बैंक धरौटी रकम तानेको छ । ठेकेदारले ठेक्का स्वीकृत कुल रकमको ५ प्रतिशत बैंकमा धरौटी जम्मा गर्नु पर्ने व्यवस्था रहेको र ऐन अनुसार सो रकम झिकिएको डिभिजन प्रमुख लामिछानेले बताए ।

भजनी प्राथमिक स्वास्थ्य केन्द्रका निमित्त इञ्चार्ज टेकराज चौधरीले बेला बेलामा ठेकेदार आउने गरे पनि ‘पैसा सकिएको’ भन्दै काम गर्न नसक्ने बताउने गरेको बताए । ‘ठेकेदार निरीक्षणमा आउँछन् । भवन कहिलेसम्म बन्छ भन्दा घाटा लाग्यो पैसा सकिएको भन्छन् ।’ चौधरीले भने, वर्षौ बित्दा पनि भवन निर्माण कार्य अधुरै छ ।’

भवनको अभावमा आकस्मिक र ओपीडी सेवा एउटै कोठाबाट दिइरहेको उनले बताए । बिरामीको चेकजाँचका लागि छुट्टै कोठा नहुँदा चेकजाँचमा अफ्ठेरो हुने गरेको उनले बताए ।

कैलालीको पुरानो स्वास्थ्य केन्द्र भजनीमा एक डाक्टरको दरबन्दी रहेको छ । स्वास्थ्य सेवालाई अझै प्रभावकारी बनाउन आवश्यक भवन निर्माण थालिएको हो ।


  •  
  •  
  •