कोइराला अनुपस्थित भएपछि बिनानिष्कर्ष टुङ्गियो संवैधानिक परिषद्को बैठक

270
  •  
  •  
  •  

काठमाडौँ, १३ मंसिर(ओएनएस) : संवैधानिक परिषद्को आज बसेको बैठक प्रमुख प्रतिपक्षी दलका नेता अर्थात् नेपाली कांग्रेसका सभापति सुशील कोइराला अनुपस्थित भएपछि बिना कुनै निर्णय टुङ्गिएको छ ।

कांग्रेसका सभापति कोइराला अस्वस्थ्यताका कारण बैठकमा उपस्थित हुन नसकेपछि बैठक बिना कुनै निष्कर्ष टुङ्गिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकमा रिक्त पदका लागि आवेदन परेका नामका बारेमा छलफल भएको र अर्को बैठकबाट निर्णय हुने परिषद्का सदस्य एवम् सभामुख ओनसरी घर्तीले जानकारी दिइन् ।

परिषद्ले गत कात्तिक २० गते ती पदका लागि योग्यता पुगेका तथा आवेदन दिन चाहेका व्यक्तिको अभिलेख अद्यावधिक गर्ने निर्णय गरेको थियो । परिषद्ले त्यसका लागि सात दिनको म्याद दिएर सूचना प्रकाशन गर्ने निर्णय गरेको थियो ।

संवैधानिक निकायका प्रमुख र पदाधिकारीको नियुक्तिका लागि सिफारिस गर्ने परिषद्मा प्रधानमन्त्री अध्यक्ष रहने र प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, व्यवस्थापिका–संसद्मा प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहने संवैधानिक प्रावधान छ ।


  •  
  •  
  •