संविधानको पुनःलेखन असम्भव : सिटौला

144
  •  
  •  
  •  

krishna prasad sitaulaविराटनगर, १० जेठ(ओएनएस) : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान जारी भइसकेकाले संविधानको पुनःलेखनको कार्य सम्भव नहुने बताएका छन् ।

संघीय गठबन्धनका नेता उपेन्द्र यादवले सरकारसँग वार्ता गर्न पहिले संविधान पुनःलेखन हुनुपर्ने शर्त राखिरहेको अवस्थामा नेता सिटौलाले कुनै पनि हालतमा पुनःलेखन सम्भव नहुने बताएका हुन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले संविधान जारी भइसकेपछि संविधानको पुनःलेखन गर्नु सम्भव नहुने बताए । पुनःलेखनका लागि पुनः संविधानसभाको निर्वाचन गर्नुपर्ने भन्दै अब यो सम्भव नहुने तर केही बुँदामा संविधान संशोधन गर्न सकिने उनको भनाइ थियो ।

उनले संविधानको पुनःलेखन गर्ने अधिकार संविधानसभालाई मात्र हुने भन्दै संसदले संशोधन मात्र गर्न सक्ने बताए । उनले राजनीतिक सहमतिका आधारमा संविधानका बाझिएका केही बुँदाहरूलाई संशोधन गर्न सकिने उल्लेख गरे ।

उनले बजेट प्रस्तुत भएपछि संविधान कार्यान्वयनको कार्य पनि अगाडि बढने बताए । उनले यसका विषयमा प्रमुख राजनीतिक दलहरूबीच छलफल भइरहेको र संविधान कार्यान्वयनलाई तिव्रताका साथ अगाडि बढाउन तयारी पनि भईरहेको जानकारी सञ्चारकर्मीहरूलाई दिएका छन् ।


  •  
  •  
  •