विषेश व्यवस्था गरेरै भएपनि माघ ८ मै संविधान जारी गर्नुपर्छः नेम्वाङ

337
  •  
  •  
  •  

Subash-Nemwang1काठमाडौ, १९ मंसिर । सभाध्यक्ष सुवाचन्द्र नेम्वाङले संविधानसभाको नियमावलीमा विषेश व्यवस्था गरेर भएपनि  माघ ८ मै नयाँ संविधान जारी गर्नुपर्ने बताएका छन् ।

सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा नेकपा एमाले राजधानी कमिटीले बुझाएको ज्ञापनपत्र बुझ्दै सभाध्यक्ष नेम्वाङले माघ ८ पछि उत्पन्न हुन सक्ने अकल्पनीय परिस्थितीबाट मुलुकलाई जोगाउन समयमै संविधान जारी गर्नुपर्ने बताए ।

प्रमुख राजनीतिक दलहरूबीचको विवादले संविधान निर्माण प्रक्रिया गतिरोध उत्पन्न भएकोमा असन्तुष्टि व्यक्त गर्दै उनले जुनसुकै हालतमा पनि माघ ८ मै संविधान जारी हुनुपर्ने बताए । सभाध्यक्ष नेम्वाङले संविधानका मुख्य अन्र्तवस्तुमा सहमति नभए प्रक्रियाबाटै टुङगो लगाउन दलहरू तयार बन्नुपर्ने समेत बताए । संवाद समितिले संविधानसभालाई प्रतिवेदन बुझाएपछि संविधान निर्माण प्रक्रियाले तिब्रता पाउने उनको भनाई छ ।

ज्ञापनपत्र बुझाउँदै एमाले राजधानी ईन्चार्ज जीवनराम श्रेष्ठले जारी राजनीतिक गतिरोधका कारण जनतामा निराशा छाउन थालेको भन्दै त्यसलाई समयमै ख्याल गर्न आग्रह गरे । श्रेष्ठले सहमति हुन नसकेका बिषयहरूलाई मतदान मार्फत भएपनि टुङग्याउन सभाध्यक्ष नेम्वाङको ध्यानाकर्षण गराए ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्यहरू सुशीला नेपाल, सोम मिश्र, ममता गिरी तथा सभासदहरू केशव बडाल, केदार सन्जेल लगायतको उपस्थिती थियो ।


  •  
  •  
  •