काठमाडौ, ३ असोज(ओएनएस) : राष्ट्रपतिले नयाँ संविधानमा हस्ताक्षर गरी ‘नेपालको संविधान २०७२’ लागू भएको घोषणा गरेका छन् । राष्ट्रपति यादवले संविधानको प्रति सार्वजनिक गरेका छन् । यसअघि सुवासचन्द्र नेम्वाङले संविधानसभाको आजको बैठक आरम्भ भएको घोषणा गर्दै राष्ट्रपतिलाई संविधानमा हस्ताक्षर गरेर संविधान लागू भएको घोषणा गरिदिन आग्रह गरेका थिए ।
सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानसभा संसदमा रूपान्तरण भएको घोषणा गर्दै संविधानसभाको बैठक स्थगित भएको घोषणा गरेका छन् ।
संविधानसभामा राष्ट्रपति डा. रामवरण यादव आईपुगेका छन् । राष्ट्रपति डा. यादवलाई सभाध्यक्ष सुवासचन्द्र नेम्वाङ, प्रधानमन्त्री सुशील कोइराला र संविधानसभा सचिवालयका महासचिव मनोहर भट्टराईले स्वागत गरेका छन् । सेनाको टुकडीले सलामी अर्पण गरेको छ ।
राष्ट्रपति यादवले आसन ग्रहण गरेका छन् । राष्ट्रीय गान बजिरहेको छ ।
यस्तो छ संविधान घोषणाको कार्य तालिका :
- पौने छ बजे राष्ट्रपति डा. रामवरण यादव संविधानसभामा आईपुग्नेछन् ।
- राष्ट्रपतिलाई संविधानसभामा रहेको सानो टुकडीले सलामी दिनेछ ।
- यसअघि नै सभासद् तथा नेताहरू संविधानसभाको हलमा प्रवेश गर्नेछन् ।
- सभासद् तथा नेताहरुले राष्ट्रपति यादवलाई स्वागत गर्नेछन् ।
- राष्ट्रपति यादवलाई सभाध्यक्ष नेम्वाङले स्वागत गरेपछि संविधानसभाको अन्तिम बैठक प्रारम्भ भएको घोषणा गर्नेछन् ।
- राष्ट्रपतिले नेपालको संविधान घोषणा गर्नेछन् ।
- सभाध्यक्ष नेम्वाङले संविधानसभाको कारबाही सम्पन्न भएको घोषणा गर्नेछन् । यसपछि संविधानसभा स्वत संसदमा परिणत हुनेछ ।
- यस क्रममा सभाध्यक्ष नेम्वाङले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको बुझिएको छ ।
-संविधानसभामा उपराष्ट्रपति परमानन्द झा आईपुगेका छन् । उनलाई संविधानसभा ससचिवालयका महासचिव मनोहर प्रसाद भट्टराईले स्वागत गरेका छन् ।
-भर्खरै प्रधानमन्त्री राजेन्द्र क्षेत्री पनि संविधानसभा भवनमा आईपुगेका छन् ।
-संविधानमा ५ सय ३७ जनाले हस्ताक्षर गरेका छन् भने ६० जनाले हस्ताक्षर गरेका छैनन् । हस्ताक्षर नगरेका सभासद्हरूलाई हस्ताक्षरका लागि ४ बजेसम्मको समय दिइएपनि कसैले हस्ताक्षर नगरेको संविधानसभा सचिवालयले जानकारी दिएको छ । हस्ताक्षर नगर्ने सभासद्हरूमा मधेसी दलका ५७ जना, कांग्रेसका २ जना र एमाओवादीका १ सभासद् रहेका छन् । संविधानसभामा ५ सय ९७ जना सभासद् रहेका छन् ।
…………………….
संविधानसभामा सभासद्हरू फोटो खिच्न व्यस्त रहेका छन् । भर्खरै प्रधानमन्त्री सुशील कोइराला संविधानसभा भवनमा आईपुगेका छन् । यस्तै अन्य दलका शीर्ष नेताहरू आउने क्रम जारी छ । सभाध्यक्ष सुवास चन्द्र नेम्वाङ भने पहिले नै नेताहरूलाई स्वागत गर्नका संविधानसभा भवनभित्र पुगिसकेका छन् र नेताहरूलाई स्वागत गरिरहेका छन् ।
……………………..
आज असोज ३ गते, नेपालको इतिहासमा स्वर्णीम दिन, ऐतिहासिक अवसरको दिन हो । आजको दिनमा नेपाली जनताले दशकौ लामो सपना साकार पुरा गर्न लागेका छन् । आजको दिन ‘एक युगको एक दिन’को रूपमा समेत चर्चा भइरहेको छ ।