‘नेताहरू बटारिएको बटारियै छन्, खै के हुन्छ ?’

126
  •  
  •  
  •  

three-partyकाठमाडौ, ५ माघ(ओएनएस) : आइतबार साँझ प्रमुख दलका शीर्ष नेताहरु संविधानको विवादित विषयमा सहमति नजिक पुग्दा उत्साहित थिए । उनीहरुले सोमबारसम्म सहमति हुने भन्दै उत्साहजनक रुपमा संचारमाध्यममा दाबी गरेका थिए । तर, सोमबार जब उज्यालो भयो, तीन दलसहित मधेशी मोर्चाका शीर्ष नेताहरुको बैठक बस्यो, तब मिलेको कुरा पनि बिग्रिएको भन्दै मलिन अनुहार लिएर तीनै नेता संचारकर्मीसमक्ष उपस्थित भए ।

आइतबार नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले ‘सहमति भइसक्यो भन्न मिल्दैन भोली घोषणा हुन्छ’ भनेका थिए । तर, सोमबार एकाएक बोली फेरेका पौडेलले संचारकर्मीलाई बैठकमा झनै विवाद बढेको बताए । उनमा आइतबारको जस्तो उत्हास देखिएन । बैठकबाट निस्कदै गर्दा पौडेलले भने, ‘ खै, नेताहरु बटारिएको बटारियै छन्, के हुन्छ हेरौ । ’

एमाले उपाध्यक्ष विद्या भण्डारी पनि आइतबार सकारात्मक भएको बैठक सोमबार एकाएक भाँडिने देखेपछि निराश देखिएकी थिइन् । बैठक नसकिँदै बाहिरिएकी उनले भनिन् ‘उहाँहरुका कुरा सुन्दा आज कुरा मिल्छ भनेर हिजो राम्रोसँग सुतेकी थिए । तर, म भ्रममा परिछु कि जस्तो लाग्यो ।’ संघीयताको विषयमा हिजै सहमति भएको ठानेकी भण्डारीले आज पनि मधेशी मोर्चाको अडान कायमै रहेको बताइन् । उनले भनिन्  ‘ आज पनि उहाँहरु पाँच जिल्ला पनि मधेस प्रदेशमै हुनुपर्ने अडानमा हुनुहुन्छ ।’

एमाले नेता माधककुमार नेपालमा पनि आइतबारको जस्तो उत्साहित देखिएन । विपक्षी दलहरू सहमति गर्न टसकीमस गरेको नेपालले दाबी गर्दै भने ‘हामीले ‘गिभ’ मात्र गर्यौ, सहमति त ‘गिभ एण्ड टेक’का आधारमा हुने हो नी ।’

एमाओवादीका महासचिव कृष्णबहादुर महारा पनि कुनै सहमति नभएको भन्ने निराशाजनक सुचनाका साथ पत्रकारमाझ उपस्थित भए । उनले भने ‘अहिलेसम्म कुनै पनि विषयमा सहमति भएको छैन । संचारमाध्यमले सहमति भएको भनेर भ्रम फैलाए । ’ यस्तै मधेसी मोर्चाका संयोजक विजकुमार गच्छदारले पनि पत्रकारबाट तर्कदै गर्दा महरा कै भनाई दोहोर्याए । काँग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला पनि कुनै समाधानको बाटो ननिस्किएको भन्दै विवादित विषयमा विपक्षी सहमतिमा नआए प्रक्रियामा जाने बताए ।

यसअघि दलहरुबीच सहमति गर्न महत्वपूर्ण भूमिका खेलेका भनिएका एमाओवादी नेता नारायणकाजी श्रेष्ठले पनि आफुहरूको पुरानो अडान कायम रहेको बताए । उनले अहिले कुनै पनि विषयमा सहमति नभएको बताए । संघीयता, शासकीय स्वरुप, न्यायापालिका र निर्वाचन प्रणालीमा सहमति गर्न केही लचिलो हुन सकिने पनि बताए ।

यता संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले पनि आइतबारको उत्साह सोमबार निराशामा परिणत भएको बताए । उनले प्रमुख दलहरू आइतबार मुख्य विवाद रहेको संघीयता बाहेकका अन्य विषयमा सहमति नजिक पुगेको थियो तर सोमबार विवाद झनै बढेको छ ।

दलबीच सङ्घीयता, शासकीयस्वरुप तथा निर्वाचन र न्यायप्रणालीमा कुरा मिल्न नसक्दा संविधान लेखन प्रक्रिया अड्किएको छ । काँग्रेस एमालले लगायतका सत्तापक्ष लामो समयदेखि जति नै प्रयास गरे पनि सहमति हुन नसकेको भन्दै अब प्रक्रियाद्धारा विवादको छिनोफानो गर्नुपर्छ भन्ने तर्क गरिरहेका छन् भने प्रतिपक्ष सहमतिको विकल्प नरहेको तर्क गर्दै आएको छ ।


  •  
  •  
  •