जेठ २ को सहमति आधारमात्र : कांग्रेस

54
  •  
  •  
  •  

काठमाडौं, ३ भदौ (ओएनएस) :  सत्तारुढ दल काँग्रेसले तोकिएकै समयमा संविधान बनाउन संविधानका विवादित विषयमा पार्टीको अडानसहित सहमतिको आधार खोज्न पार्टीभित्र आन्तरिक छलफल सुरु गरेको छ ।

मंगलवार पदाधिकारी, संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिमा पार्टीका तर्फबाट सहभागी सभासद एवम् मन्त्रीहरूसहितको सहभागितामा प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले संघीयता, शासकीयस्वरुप, न्याय प्रणालीसहितका विषयमा सहमति खोज्नेबारे पार्टीभित्र छलफल सुरु गरेको हो ।

सो सम्बन्धमा पार्टीले यसअघि प्रस्तुत गरेको तथा चुनावमा पार्टीले घोषणापत्रमा राखेको अवधारणाका आधारमा अघि बढ्नेबारेमा पार्टीभित्र छलफल सुरु भएको पार्टीका प्रवक्ता दिलेन्द्रप्रसाद बडूले जानकारी दिए । ‘पार्टीको नेतृत्वमा सरकार छ र एक वर्षमै संविधान बनाउने समयसीमा तोएिकाले सबै पार्टीका आ–आफ्ना धारणा भएपनि यस विषयमा काँग्रेसले कति लचकता अनपाउन सक्छ, त्यसबारेमा छलफल सुरु भएको छ, उनले भने ।

प्रवक्ता बडुले ०६९ जेठ २ गते प्रमुख दलहरूबीच भएको सहमति सन्दर्भ सामग्रीका रुपमा रहेको उल्लेख गर्दै शासकीय स्वरुप, संघीयता, न्याय प्रणाली बारेमा पार्टीको अन्तिम निष्कर्षसहितको धारणा बनाउन बुधबार बैठक बस्ने जानकारी दिए । कांग्रेसले दलहरुबीच जेठ २ मा भएको सहमति आधार मात्र भएकाले त्यसैलाई अन्तिम मान्न नहुने बताएको छ ।

यही माघ ८ गतेभित्र संविधान बनाउने प्रतिबद्वताअनुरुप समयसीमा छोटिदै गएपछि दलहरूले संविधान बनाउन विवादित विषयमा छलफल थालेका छन् ।

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले शासकीय स्वरुप, संघीयतालगायतका विषयमा छलफल प्रवेश गराएपछि दलहरूबीच पनि सहमतिका लागि अनौपचारिक संवादले तीव्रता पाएको छ । तर त्यसअघि प्रत्येक दलभित्रै बदलिदो अवस्थामा के धारणा हुने भन्नेमा छलफल गरेर मात्र राजनीतिक दलहरूबीच साझा धारणा बनाउन सकिने भन्दै काँग्रेसले पनि पार्टीमा छलफल थालेको हो ।


  •  
  •  
  •