सल्यान, ९ चैत(ओएनएस) : एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणपछि कांग्रेसलाई पनि सरकारमा ल्याउन पहल गरिने बताएका छन् ।
प्रेस चौतारी नेपाल सल्यान शाखाले आज बिहान सदरमुकाम खलङ्गामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले संविधान जारी भएपछि संविधानको कार्यान्वयन र देशको आर्थिक विकासका लागि सहमति र सहकार्य आवश्यक रहेको बताएका छन् । एमालेले कांग्रेसलाई सरकारमा लैजान सक्ने बताए ।
उनले देशमा अस्थिरता कायम गरेर देशको प्रगति नहुने भएकाले यसको निकासका लागि पनि सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन् । उनले देशको राष्ट्रिय एकता कमजोर पारेर देशलाई गति दिन नसकिने भन्दै राजनीतिक निकासका लागि सहमति र सहकार्य आवश्यक रहेको भनाई राखेका छन् ।
उनले प्रधानमन्त्री ओलीको भारत भ्रमण सफल रहेको भन्दै चीन भ्रमण पनि उपलब्धिपूर्ण हुने दावी गरेका छन् ।
उनले ओली सरकारले नै स्थानीय निकाय र संसद्को निर्वाचन गराउने र यसका लागि सबै दललाई मिलाएर लैजान सक्ने क्षमता अहिलेको सरकारमा रहेको दावी गरेका छन् ।