आन्दोलन रोके संघीयतामा लचक

170
  •  
  •  
  •  

काठमाडौं २४ माघ । एमाओवादीले घोषित आन्दोलन फिर्ता लिए सत्तासीन कांग्रेस-एमाले संघीयतामा लचिलो हुने भएका छन्।

एमाओवादीले आन्दोलन फिर्ता गरे माघ ५ गते एमाओवादी र सयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग भएको ‘भद्र सहमति’ अनुसार शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा अघि बढे संघीयतामा प्रदेश संख्या र सीमांकनमा थप लचिलो हुन सकिने निष्कर्षमा दुई दल पुगेका हुन्।

राष्ट्रपतिले प्रमुख दलका शीर्ष नेतालाई बोलाएर सहमति गर्न दबाब दिएपछि शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस-एमाले शीर्ष नेताहरूको बैठकले सहमतिका लागि अधिकतम लचक हुने निर्णय गरेको हो।

‘एमाओवादीले तत्काल आन्दोलन स्थगित गरेर विश्वासको वातावरण बनाए अधिकतम लचक हुने निष्कर्ष बैठकको छ’, एमाले उपाध्यक्ष भीम रावलले अन्नपूर्णसँग भने, ‘तर आन्दोलन यथावत् राखे संविधानसभाको प्रक्रिया पनि यथावतै हुन्छ।’

दलहरूबीच संघीयताको संख्या र पूर्व र सुदूरपश्चिमका जिल्ला टुक्र्याएर संघ बनाउने/नबनाउने विषयमा तीव्र विवाद छ। एमाओवादी र मधेसी मोर्चा जिल्ला टुक्र्याएर संघ बनाउने पक्षमा छन् भने कांग्रेस-एमाले टुक्र्याउन नहुने पक्षमा अडिग छन्।

दलीय वार्ता हुन नसके उच्चस्तरीय राजनीतिक समितिको बैठक राखेर पनि छलफल गर्न तयार हुनुपर्ने धारणा बैठकमा आएको थियो। प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग वार्ताका लागि गरेको पहलबारे जानकारी गराएका थिए।

बैठकले संविधानका अन्तरवस्तुमा ‘अधिकतम’ लचक हुने भन्दै एमाओवादी नेतृत्वको मोर्चालाई वार्तामा आउन आग्रह गरेको छ।

‘सकभर सहमतिमै संविधान ल्याउन अधिकतम लचक भएर वार्ता अघि बढाउने बैठकको निचोड छ’, बैठकमा सहभागी कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले भने, ‘त्यसका लागि प्रधानमन्त्रीले वार्ताको वातावरण बनाउने र एमाओवादी नेतृत्वको मोर्चालाई वार्तामा आउन आग्रह गर्ने सहमति भएको छ।’

बैठकले संविधानसभाको प्रश्नावली तयारी समितिको कामकारबाही भने तत्काल नरोक्ने निर्णय गरेको छ। ‘वार्तामा अधिकतम लचक भएर प्रस्तुत हुने तर संविधानसभाको प्रक्रिया पनि नरोक्ने निर्णय भएको छ’, खड्काले भने।

संविधानसभाभित्र प्रश्नावली प्रस्ताव निर्माण समिति गठनको विरोधमा एमाओवादी नेतृत्वको मोर्चाले आन्दोलन घोषणा गरेको छ। उसले समिति गठन बदर नभएसम्म वार्ता नगर्ने बताएको छ।

बैठकमा प्रस्ताव उपसमितिका संयोजक अग्नि खरेल र प्रस्ताव तयारी समितिका सदस्य रमेश लेखकले प्रश्नावली निर्माण समितिमा भएका प्रगतिबारे जानकारी गराए।

प्रधानमन्त्री कोइरालाले एमाओवादी अध्यक्ष दाहालसँग वार्ताका लागि गरेको पहल सफल हुन सकेको छैन। कोइरालाले एकपटक दाहाल निवासमै पुगेर र पटकपटक टेलिफोनबाट वार्ताको वातावरण बनाउने प्रयास गर्दै आएका छन्।

अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •