सिराहा कांग्रेस पार्टी कार्यालय रणभूमिमा परिणत, झडपमा १० जना घाइते

1326
  •  
  •  
  •  

Siraha
सिरहा, २१ भदौ (ओएनएस) : सिराहामा उम्मेदवार छनौटको विवादका कारण नेपाली कांग्रेसका कार्यकर्ताबीच कुटाकुट भएको छ ।

जिल्ला पार्टी कार्यालयमा भएको कुटाकुटमा परि १० जना भन्दा बढी घाइते भएका छन् । मेयरको टिकट पाएका ड. सुभाषचन्द्र यादव र असन्तुष्ट उपेन्द्र यादव पक्षबीच झडप भएको प्रहरीले जनाएको छ ।

झडपमा नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति संजय यादव, बुधन यादव, देबनाथ सहनी, राजेश्वर यादव, रामबाबु यादव, अरुण यादव, जगदिश यादवलगायत कार्यकर्ता घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिए ।

उनकाअनुसार घाइतेहरुको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको छ । अहिले जिल्ला प्रहरी कार्यालयमा प्रहरी तैनाथ गरिएको छ । झडपका क्रममा रड तथा खुकुरी पनि प्रयोग भएको पाइएको प्रहरीले बताएको छ । डा. सुभाषचन्द्र यादव कांग्रेसकी कोषाध्यक्ष सितादेवी यादवका छोरा हुन् ।


  •  
  •  
  •