काठमाडौँ, २२ चैत(ओएनएस) : नेपाली कांग्रेसले संसदीय दलको विधान संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।
कांग्रेस संसदीय दलको संसद भवन, नयाँ बानेश्वरमा बसेको बैठकले उक्त प्रस्ताव पारित गरेको हो । बैठकमा प्रमुख सचेतक चिनाकाजी श्रेष्ठले विधान संशोधनको प्रस्ताव प्रस्तुत गरेका थिए । जेष्ठताका आधारमा कुलबहादुर गुरूङले अध्यक्षता गरेको बैठकमा अन्तरिम संविधान-२०६३ को ठाउँमा संविधान, संविधानसभाको ठाउँमा व्यवस्थापिका संसद, ५ विकास क्षेत्रको ठाउँमा ७ प्रदेशलगायतका शब्दमा परिमार्जन गरिएको छ ।
त्यस्तै, समावेसी समुहबाट निर्वाचित भएका १५ जना सदस्य हुने र पहिले ६ जना मनोनयन हुनेमा ९ जना हुने व्यवस्था गरिएको छ ।
संसदीय दलको बैठकले पारित गरेको विधान संशोधनको प्रस्तावलाई केन्द्रीय समितिले अनुमोदन गर्नुपर्ने प्रावधान अनुसार केन्द्रीय समितिको आज बस्ने बैठकले उक्त प्रस्ताव अनुमोदन गर्ने भएको छ ।
बैठकले चैत २४ गते संसदीय दलको नेता र २६ गते संसदीय कार्यसमितिको निर्वाचन गर्ने पनि निर्णय गरेको छ ।