कांग्रेसको प्रस्ताव बिरुद्ध उसैका सभासद्

283
  •  
  •  
  •  

काठमाडौं, कात्तिक २३ (ओएनएस) : आफ्नै पार्टीले दुई तिहाई बहुमतसहित संविधानसभाको संवैधानिक संवाद तथा सहमति समितिमा दर्ता गराउन खोजेको प्रस्तावको विरुद्धमा कांग्रेसकै तराई क्षेत्रका सभासदहरू उभिएका छन् ।

सभासद फर्मुल्लाह मन्सुरको नेतृत्वमा उनीहरूले पार्टी नेतृत्वलाई दबाब दिने भन्दै भेला समेत आयोजना गरेका छन् । भेलाले प्रधानमन्त्री एवम् कांग्रेस सभापति सुशील कोइरालालाई सम्बोधन गर्दै दुई बुँदे ध्यानाकर्षणपत्र समेत तयार गरेको छ । यसमा मोरङ कांग्रेसका सभापति अमृत अर्यालदेखि राष्ट्रपतिका छोरा चन्द्रमोहन यादवसम्म रहेका छन् ।

उनीहरूले पूर्व झापादेखि पश्चिम कञ्चनपुसम्म, दक्षिण भारतीय सीमादेखि उत्तरको चुरेसम्मको भूगोल मधेस प्रदेशका रूपमा दाबी गरेका छन् । यद्यपि, तराईमा प्रदेशको संख्याभन्दा पनि स्रोतमा जोड दिएको भेलामा सहभागी नेता अमरेशकुमार सिंहले जानकारी दिए ।

साथै, मधेसका प्रदेशबाट तीन ठूला नदी सप्तकोशी, नारायणी र कर्णाली छुट्याउन नपाइने प्रमुख सर्त उनीहरूले राखेका छन् ।

‘यी तीन ठूला नदीबिनाका प्रदेश हुनै सक्दैनन् ।त्यसैले यिनलाई अलग्याएर स्रोतविहीन बनाउने प्रयास गरेको देखियो,’ सिंहले भने, ‘संसारभरि नै अबको लडाइँ पानीका लागि हुनेछ । ठूला नदीनालाको उपयोग मधेसका प्रदेशले गर्न नपाउने हो भने नेपालमा पनि त्यही उपक्रम चल्नेछ ।’

मधेसमा तीनदेखि चार प्रदेशसम्म बनाउँदा आपत्ति नहुने उनीहरूको धारणा छ ।

कांग्रेसका महेन्द्र राय यादव, सीताराम महतो, राकेशचन्द्र यादव, राजेन्द्र अमात्य, लालबाबु सिंह, रामचन्द्र चौधरी, सूर्यदेव उराव, गणेश मण्डल, प्यारेलाल राना, सुरेन्द्र यादव, रश्मि यादव, तेजुलाल चौधरीलगायत विरोधपत्रमा हस्ताक्षर गरेका छन् ।


  •  
  •  
  •