काठमाडौँ, ३ चैत्र(ओएनएस) : नेपाली कांग्रेसको १३ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यको पदभार ग्रहण आज बुधबार गरिने भएको छ ।
पार्टीको निर्वाचन समितिले आज साँझ ४ बजेका लागि पदभार ग्रहण कार्यक्रम तय गरेको छ । निर्वाचन समितिले नवनिर्वाचित सबै पदाधिकारी र सदस्यलाई विजयी भएको प्रमाणपत्र दिएपछि सबै औपचारिक रूपमा आ-आफ्नो पद सम्हाल्ने छन् ।
गत फागुन २३ गते भएको निर्वाचनबाट सभापति, महामन्त्री र कोषाध्यक्षसहित ६४ जना निर्वाचित भएका थिए । फागुन २३ गते भएको मतदानको मत परिणाम सोमबार साँझ मात्र आएको थियो ।
त्यस्तै, नेपाली कांग्रेस काठमाण्डौ जिल्ला समितिको आयोजनामा आज नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रम हुँदैछ । बिहान ८ बजे नाँचघर जमलमा शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा निर्वाचित ६४ जनालाई बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरिएको कांग्रेस काठमाडौले जनाएको छ ।