संशोधन पारित गराउन मोर्चासँग कांग्रेसले माग्यो सहयोग

165
  •  
  •  
  •  

congress-morchaकाठमाडौं, २८ कत्तिक(ओएनएस) : मधेस आन्दोलनलाई सम्बोधन गर्ने सम्बन्धमा कांग्रेसले मधेसकेन्द्रित दलहरुसँग छुट्टै वार्ता थालेको छ । शनिबार प्रमुख विपक्षी दलका रूपमा रहेको नेपाली कांग्रेसले मधेसी मोर्चाका नेताहरूसँग छलफल गरेको हो ।

सिंहदरबारस्थित आफ्नो संसदीय कार्यालयमा भएको वार्तामा नेपाली कांग्रेसले आफ्नो सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव पारित गर्न मधेसी मोर्चासँग सहयोग मागेको छ ।

कांग्रेसले आफ्नो संशोधन प्रस्ताव संसदबाट पारित भए मधेसको समस्या समाधान गर्न सहज हुने भनाई मोर्चासँग राखेको थियो । कांग्रेसले संसद सचिवालयमा दर्ता गराएको संशोधन प्रस्तावमा हाल कायम रहेको जिल्लामा एक क्षेत्र नघट्ने गरी जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने प्रस्ताव राखेको छ ।

तर, मधेसी मोर्चाले भने कांग्रेसले प्रस्ताव गरेको संशोधन प्रस्तावलाई आफूहरूलाई मान्य नहुने बताएको छ । मोर्चाले जनसंख्याका आधारमा मात्र निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने माग गर्दै आएको छ । यस्तै, बैठकमा मोर्चाले तराईमा दुई प्रदेश आफूहरूको बटमलाइन भऐको भन्दै त्यस विषयमा कांग्रेसको धारणा माग गरेको थियो । तर, कांग्रेसले भने सीमांकनसम्म पुग्ने बाटो संशोधन भएको भन्दै सहयोग मागेको छ ।

बैठकमा काँग्रेसका कावा सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य महेश आचार्य र सचेतक ईश्वरी न्यौपाने सहभागी थिए भने मोर्चाको तर्फबाट तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादव, सङ्घीय समाजवादी फोरम नेपालका उपेन्द्र यादव र नेता अशोककुमार राई, तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र हृदयेश त्रिपाठी तथा सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण सहभागी थिए ।


  •  
  •  
  •