कोइराला पार्टीभित्रै अप्ठ्यारोमा

85
  •  
  •  
  •  

काठमाडौं १८ कात्तिक ।
प्रधानमन्त्रीमा उम्मेदवारी दिने निर्णयकै कारण कांग्रेस सभापति सुशील कोइराला पार्टीभित्रैबाट अप्ठ्यारोमा परेका छन् । तीन दिनदेखि जारी केन्द्रीय कार्यसमितिको बैठकमा प्रधानमन्त्रीको उम्मेदवारी बन्ने निर्णयले नै राज्य सत्ताका सवै पद गुमाउनु परेको भन्दै अधिकांश केन्द्रीय सदस्य नेतृत्वप्रति खनिएपछि कोइराला नैतिक संकटमा परेका हुन । नैतिक रुपमा संसदीय दलको नेताबाट राजीनामा दिनुपर्ने आवाज समेत पार्टीभित्र उठ्न थालेको छ ।

कोइराला सहित तीनै नेताले सक्रिय राजनीतिक त्याग्नुपर्ने धारणा पार्टीभित्र प्रवल बन्दै गएपछि कोइरालाले मंगलबार अशक्त नभएसम्म सक्रिय राजनीति नत्याग्न जबाफ दिएका थिए । मंगलबारको बैठकमा प्रवक्ता दिलेन्द्र बडु, केन्द्रीय सदस्यहरु विमलेन्द्र निधि, मिनेन्द्र रिजाल र गुरुराज घिमिरेले लोकतन्त्रमा प्रतिस्पर्धालाई स्वभाविक रुपमा लिनुपर्ने भन्दै प्रधानमन्त्रीको उम्मेदवारले कांग्रेसलाई नोक्सान नगरेको बताएका थिए । चारजना बाहेक अन्य सबै सदस्यहरुले कोइरालाको उम्मेदवारीलाई अस्भाविक र गलत निर्णय भएको भन्दै नेतृत्वले आत्मआलोचना सहित माफी माग्नुपर्नेमा जोड दिएका थिए ।

यसपालीको केन्द्रीय कार्यसमितिको बैठक विगतमा जस्तो दुई पक्षबीच विभाजित छैन । यसअघि केन्द्रीय कार्यसमितिको बैठकमा हुने छलफल संस्थापन र देउवापक्ष विच विभाजित हुन्थ्यो । बैठकमा संस्थापन पक्षले सभापति कोइरालाको र अर्को पक्षले देउवाको प्रतिरक्षा गर्ने परम्परा जस्तै थियो । प्रधानमन्त्री निर्वाचनको बिषयमा भने दुवै पक्षका अधिकांश सदस्यहरु तीनै शिर्ष नेतृत्वप्रति खनिएका छन् ।

देउवा निकट विमलेन्द्र निधि कोइरालाको प्रतिरक्षामा उभिएका छन् । देउवा पक्षीय नेता पुर्णवहादुर खडका प्रधानमन्त्रीमा कोइरालाको उम्मेदवारीसंगै असन्तुष्टी भई सहमहामन्त्रीबाट राजीनामा दिए । देउवा निकट केन्द्रीय सदस्यहरु प्रकाशशरण महत, बालकृष्ण खाँडलगायतले तीनै शिर्ष नेतृत्वले गलत निर्णय लिएको भन्दै आत्मआलोचना गर्नुपर्ने माग गरे । संस्थापन पक्षीय अधिकांश सदस्यहरु पनि कोइरालाले उम्मेदवारी दिने निर्णय गलत भएको भन्दै सक्रिय नेतृत्व त्याग्न आग्रह गरेका छन ।
केन्द्रीय सदस्य निधिले भद्र सहमति अनुसार जाँदापनि कांग्रेसले प्रधानमन्त्री र सभामुख नपाउने उल्लेख गर्दै कांग्रेसले आंलकाकारिक राष्ट्रपति मात्रै गुमाएको बताए ।

‘प्रधानमन्त्री र सभामुख पद दिईसकेका थियौं,अहिले एउटा राष्ट्रपतिको पद मात्रै गुमाएको हो । त्यो भन्दा बढी कांग्रेसले मधेशको विश्वास गुमाएका छौ । मधेश र पाहडको सम्वन्ध गुमाएका छौ र मधेश र नेपाली कांग्रेसको सम्वन्ध गुमाएका छौ’ निधिले भने,’यसलाई बचाउन कांग्रेसले संविधान संशोधनको विधेयकलाई अघि बढाउन सघर्ष गर्नुपर्छ ।’

अन्तरिम संविधानमा भएको व्यवस्था अनुसार जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने र राज्यका सवै अंगमा समानुपातिक समावेशी सिद्धान्त अनुसार प्रतिनिधित्वको सुनिश्चिता गर्ने बिषय संविधानमा समावेश गर्ने आश्वसनकै कारण कांग्रेस, एमाले र एमाओवादीका मधेश केन्दि्रत दलहरुले संविधान स्वीकार गरेको निधिले बताए । ‘अन्तरिम संविधानबाट प्रमुख दलहरु पछि हटा मधेश र पाहडबीच दुरी बढाउने काम गर्यो’ निधिले भने,’यसलाई घटाउन कांग्रेसले अब आउने संसदको बैठकबाटै संविधान संशोधनको बिधेयकलाई पारित गराउन दबाव दिनुपर्छ ।’ उनले राष्ट्रियता र राष्ट्रिय स्वाभीमानलाई हेर्ने दृष्टिकोणमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र सिके राउत एउटै सिक्काका दुई पाटा भएको आरोप लगाए । ‘पाहड र मधेशमा फरक-फरक राष्ट्रियताको परिभाषा हुन्न । मधेशी युवाहरुमा पाहडलाई हेर्ने दृष्टिकोणमा सिके राउतको मनोविज्ञान अघि बढेको छ । पाहडी युवाहरुमा केपी ओलीको मनोविज्ञान बढेको छ’ निधिले भने,’यी दुवै एउटै सिक्काका दुई पाटा हुन ।’

कांग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्रवहादुर कार्कीले भारत र नेपालबीचको सम्वन्ध कांग्रेस नेतृत्वकै सरकार छदा विग्रेको बताउदै यसलाई सुधार गर्न कांग्रेसले अग्रसरता लिनुपर्नेमा जोड दिएका थिए । उनले नेतृत्वको अदुरदर्शी निर्णयले अनुकुल परिस्थितीलाई प्रतिकुल बनाउने काम गरेको बताउँदै आत्मआलोचना गरेर नेतृत्व अघि बढ्न सुझाव दिए । ‘यो संविधानबाट एकल पार्टीको बहुमत आउने अवस्था छैन । हाम्रो संविधान नै त्रिशंकु संस्कृतिको छ । यसलाई बुझेर नै नेताहरुले कांग्रेसलाई आस्था र विश्वासको केन्द्र बनाउनु पर्दथ्यो’ कार्कीले भने,’नेतृत्वको अदुरदर्शी निर्णयले सवै पद मात्रै गुमेन । कांग्रेसलाई भारत परस्तको सन्देश दिएर संगठनलाई क्षती पुर्‍याउने काम समेत भएको छ ।’

अर्का सदस्य बालकृष्ण खाँडले पनि प्रधानमन्त्री निर्वाचनमा नेतृत्वले गल्तीले सवै पद गुमाउनु परेको बताए । केन्द्रीय सदस्य नविन्द्रराज जोशीले पार्टीभित्रै उम्मेदवार दिदापनि पार्टी सभापति कोइराला हुन नहुने बताएका थिए । ‘पहिलो विकल्प एमालेलाई समर्थन गरेर जानुपर्दथ्यो । पार्टीले उम्मेमदवार दिनै पर्ने अवस्थामा पनि पार्टी सभापति नभई अन्य नेतालाई अघि सार्नुपर्दथ्यो’ जोशीले भने । सदस्य केशवकुमार बढुाथोकीले असल व्यक्ति भएपनि नेताहरु राम्रो नेता बन्न नसकेको बताए । ‘नैतिक रुपमा पनि सभापतिजी (सुशील कोइराला) पार्टीको १३ औं महाधिवेशनमा उम्मेदवार बन्न अब मिल्दैन’ उनले भने ।

कान्तिपुरबाट


  •  
  •  
  •