कांग्रेसमा संस्थापनबाटै सभापतिका तीन आकांक्षी

79
  •  
  •  
  •  

काठमाडौं ९ माघ ।
फागुनमा हुने नेपाली कांग्रेसको १३औं महाधिवेशनमा संस्थापन पक्षबाट सभापतिमा वर्तमान सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्ण सिटौला तीनै जनाले उम्मेदवारी दिने गरी भित्रभित्रै तयारी सुरु गरेका छन् । १२औं महाधिवेशनमा एक पटकका लागि मात्र सभापति बन्ने बताएका कोइरालाले पुनः उम्मेदवारी दिने/नदिने विषयमा केही बोलेका छैनन् । तर, कोइरालानिकट नेताहरूले भने उनले पुनः उम्मेदवारी दिने बताउँदै आएका छन् । केही दिनयताका सार्वजनिक कार्यक्रममा कोइरालाले आफूले पुनः उम्मेदवारी दिने संकेत गर्न थालेका छन् ।

उपसभापति पौडेलले आफू पछि फर्कन नै नसक्ने गरी अघि बढिसकेको बताउँदै आएका छन् । उनले संस्थापन पक्षका नेताहरूसँग निर्णायक छलफलसमेत थालिसेकका छन् । सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका पौडेलले झापाबाट काठमाडौं फर्केलगत्तै सभापति कोइरालासँग निर्णायक कुराकानी गर्ने भएका छन् । पौडेल शनिबार बिहान काठमाडौं फर्कंदै छन् । उनले सम्भव भएसम्म शनिबार साँझ, नभए आइतबारसम्म कोइरालासँग निर्णायक कुराकानी गर्ने पौडेलनिकट नेताहरूले बताएका छन् ।

महामन्त्री सिटौलाले औपचारिक रूपमा सभापतिमा उम्मेदवारी दिने घोषणा नगरे पनि तयारीलाई भने तीव्रता दिएका छन् । सिटौलाले भ्रातृ तथा शुभेच्छुक संगठनका पदाधिकारीहरूसँग कुराकानी गरेका छन् । यसैगरी, विभिन्न जिल्लाका नेताहरूसँग पनि भेटघाट थालेका छन् ।स्रोतका अनुसार सिटौलाले संस्थापन पक्षसँग निकट मानिएका सुजाता, गगन थापालगायतका नेताहरूसँग कुराकानी गरिसकेका छन् ।

राजधानीबाट


  •  
  •  
  •