उच्चस्तरीय समितिको विषयले कांग्रेसमा विवाद

77
  •  
  •  
  •  

काठमाडौँ, ११ भदौ : एमाओवादीले उच्चस्तरीय राजनीतिक समिति गठन नभए संसद अवरोध गर्ने चेतावनी दिइरहेका बेला सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेसमा यसै विषयलाई लिएर विवाद उत्पन्न भएको छ । पार्टी सभापति सुशील कोइराला प्रधानमन्त्री बनेपछि खासै विवाद नदेखिएको कांग्रेसमा उच्चस्तरीय समितिको विषयले भने नेता शेरबहादुर देउवा पक्ष र संस्थापन पक्षबीच विवाद उत्पन्न भएको छ । सत्तारुढ घटकले उच्चस्तरी राजनीतिक समितिको औचित्य नभएको बत्रताइरहेका बेला सरकारका एक जना वरिष्ठ मन्त्रीले भने उच्चस्तरीय समिति बनाउनुपर्ने बताएका छन् । देउवा पक्षका नेता तथा भौतिक योजना मन्त्री विमलेन्द्र निधिले यस्तो समिति बन्दा कुनै समस्या नहुने धारणा राखेका हुन् ।

उनले संविधानसभालाई सघाउन प्रमुख दलहरूबीच उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउँदा केही फरक नपर्ने बताए । फ्रेडरिक एवर्ट स्टिफटुङ (एफइयस) नेपालको सहयोगमा नेपाल प्रेस युनियनले बुधबार राजधानीमा आयोजना गरेको राष्ट्र निर्माणमा मिडियाको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रममा मन्त्री निधिले प्रमुख तीन दलबीच भएको चारबुँदे सहमतिबमोजिम समिति गठन गर्न दल इमान्दार हुनुपर्ने बताए । देउवा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई उच्चस्तरीय समितिको संयोजक बनाउने खेलमा लागेको चर्चा भइरहेका उनका विश्वास पात्रले यस्तो बताएका हुन् । तर, प्रधानमन्त्री कोइराला र उपसभापति रामचन्द्र पौडेल भने यस्तो समिति बनाउन नहुने पक्षमा छन् । यी अडानका कारण एमाओवादीले तीन दलीय बैठक नै वहिस्कार गरेको थियो ।


  •  
  •  
  •