कांग्रेस संसदीय दलमा देउवा र सिंहबीच आज भिडन्त

271
  •  
  •  
  •  

काठमाडौं, २१ फागुन (ओएनएस) : नेपाली कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच प्रतिस्पर्धा हुँदैछ।

बिहान १० देखि दिनको १ बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा मतदान हुने निर्वाचन समितिका सदस्य सचिव केशव रिजालले जानकारी दिए। मतदान समाप्त भएलगत्तै मतगणना शुरु हुनेछ।

त्यसअघि बिहान ८ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिका रहेको छ। देउवा र सिंहले संसदीय दलको नेताका लागि उम्मेदवारी दिएका थिए।

महाधिवेशनमा सभापतिको प्रत्यासी रहेका रामचन्द्र पौडेल समूहको समर्थन नेता सिंहलाई रहेको छ।

कांग्रेस संसदीय दलमा प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ सांसद छन्। निर्वाचित २३ मध्ये पौडेल पक्षका धेरै छन्। समानुपातिक सूचीबाट सांसद भएकाहरू अधिकांश देउवा पक्षीय छन्। समग्रमा देउवा बहुमतमा छन्।

पार्टीको संसदीय दलको विधानअनुसार संसदीय दल कार्यसमिति २६ सदस्यीय हुनेछ। संसदीय दलको नेताको निर्वाचनपछि मात्र संसदीय दल कार्यसमितिको निर्वाचन हुनेछ।

संसदीय दलको उपनेता र राष्ट्रियसभा दलको नेता पनि संसदीय दलको नेताले नै तोक्ने कांग्रेस संसदीय दलको विधानमा उल्लेख छ। त्यस्तै, राष्ट्रियसभाका प्रमुख सचेतक प्रतिनिधिसभाको प्रमुख सचेतकको सिफारिसमा संसदीय दलको नेताले नै चयन गर्ने व्यवस्था छ।


  •  
  •  
  •