कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दै

276
  •  
  •  
  •  

काठमाडौँ, १३ फागुन(ओएनएस) : नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज बस्दैछ । पार्टी कार्यालय सानेपामा विहान ११ बजे बस्ने बैठकमा आगामी महाधिवेसनको नीतिगत विषयमा छलफल केन्द्रित हुनेछ ।

पार्टीको विधान संशोधन, पार्टीको नीति तथा कार्यक्रमका विषयमा छलफल हुने केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले जानकारी दिएका छन् । महाधिवेशन आउन एकहप्ता मात्र बाँकी भएको अवस्थामा बस्ने बैठकमा महाधिवेशन तयारीका लागि गठन गरिएका समितिहरुले गरिरहेको काम र तयारीलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल हुने भएको छ ।

आजको बैठकमा केन्द्रीय समितिको आकारका साथै पदाधिकारी संख्या बढाउनुपर्ने विषयमा समेत छलफल गर्ने तयारीमा संस्थापन पक्ष रहेको छ । संस्थापन पक्षमा पदाधिकारी आकांक्षीको संख्या बढेपछि त्यसलाई मिलाउनका लागि संस्थापन पक्ष पदाधिकारी बढाउनुपर्ने पक्षमा देखिएको छ ।

आजको बैठकमा संस्थापन पक्षले पदाधिकारी संख्या बढाउन प्रस्ताव राख्ने तयारी गरेको छ तर, वरिष्ठ नेता शेरबहादुर देउवा पक्षका नेताहरू भने कुनै पनि हालतमा पदाधिकारी संख्या बढाउन नहुने पक्षमा देखिएका छन् । आज बस्ने बैठकमा देउवा पक्षका नेताहरूले पदाधिकारी थप्ने विषयलाई कडा प्रतिवाद गर्ने तयारी समेत गरिरहेका छन् ।


  •  
  •  
  •