काठमाडौं, असार १९ (ओएनएस) । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सभासद्हरूले अपेक्षा गरेअनुरूपको नीति तथा कार्यक्रम नआएको भन्दै बजेट पनि यही तरिकाबाट आए पार्टी नेतृत्व अप्ठ्यारोमा पर्ने चेतावनी दिएका छन् ।
तीन दिनदेखि जारी बैठकमा केन्द्रीय सदस्य तथा सभासद्हरूले पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्रीको चर्को आलोचना गरेका छन् । उनीहरूले निर्वाचन क्षेत्र विकासका लागि सभासद्हरूले राखेको माग सुनुवाइमा अर्थमन्त्री डा. रामशरण महत गम्भीर नबनेको भन्दै आपत्ति जनाएका छन् ।
उनीहरूले क्षेत्रमा जाने खुद्रे कार्यक्रम हटाएर भने पनि विकासका ठूला परियोजना सञ्चालनका लागि यथेष्ट बजेट छुट्याउन माग गरे । सभासद्हरूले निर्वाचन क्षेत्रमा सभासद्को सिफारिसमा पाँच करोड खर्च गर्ने व्यवस्थाले पार्टीसमेत मजबुत हुने भन्दै त्यसलाई लागू गर्न आग्रह गरे । उनीहरूले क्षेत्रमा चाहिने विकास आयोजनाका विषयमा सभासद्हरू नै जानकार हुने भन्दै केन्द्रीय योजनाले मात्र जनताको आवश्यकता पूरा हुन नसक्ने बताए । बैठकमा बोल्ने अधिकांशले बजेटमा प्रत्येक निर्वाचन क्षेत्रमा पाँच करोड रुपैयाँका दरले रकम छुट्याउने व्यवस्था गरिनुपर्नेमा जोड दिएको बैठकपछि कांग्रेस नेता डा. प्रकाशशरण महतले जानकारी दिए ।
बैठकमा बोल्दै केन्द्रीय सदस्य तथा सभासद्हरूले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले राणाकालीन सोच र पञ्चायतको धङधङीबाट अघि बढ्ने चेष्टा गरेको भन्दै आलोचना गरेका थिए । मन्त्रीहरूले मुलुक र पार्टीको हितमा काम गर्न नसक्ने र उनीहरूको कार्यशैलीमा परिवर्तन नआउने हो भने सरकारबाट फिर्ता बोलाउनुपर्ने मागसमेत गरेका छन् ।
केन्द्रीय सदस्य तथा सभासद्हरूले कांग्रेसका तर्फबाट सहभागी मन्त्रीहरूले आफ्नो क्षेत्र, परिवार र नाताभन्दा बाहिर निस्कन नसकेको आरोप लगाउँदै पार्टीका सभासदलाई समेत भेट्ने समय नदिएको र जनताको प्रतिनिधिŒव गर्ने आफ्नै सभासद्ले ल्याएका योजनालाई प्राथमिकता नदिइएको आरोप लगाएको सभासद् रामकृष्ण यादवले जानकारी दिए । बैठकमा सभासद्हरूले स्वर्गीय गिरिजाप्रसाद कोइराला नेतृŒवको सरकारसमेत नीति तथा कार्यक्रम पारित गर्न नसकेका कारण ढल्नुपरेको विगत सम्झन भन्दै नसुध्रिए त्यही हालत हुने चेतावनी दिएका थिए । सरकारले आइतबार सार्वजनिक गरेको नीति तथा कार्यक्रमका साथै नयाँ बजेटका विषयमा सभासद् र केन्द्रीय सदस्यको सुझाव लिन सोमबारदेखि जारी बैठकमा अधिकांशले मन्त्रीहरूको आलोचना गर्दै अघिल्लो वर्षको रकमान्तरमा पनि पहुँच भएका र मन्त्रीको जिल्ला तथा क्षेत्रमा मात्र धेरै रकम विनियोजन भएकाले सबै क्षेत्रमा सन्तुलित बजेट वितरण गर्न माग गरे ।
बैठकमा कांग्रेस सभादहरूले एमाले नेता मनमोहन अधिकारीका नाममा स्थापना भएको अस्पताललाई सरकारले बजेट छुट्याउन हुने तर, बीपी कोइराला, गणेशमान सिंह, महेन्द्रनारायण निधिका नाममा सञ्चालित अस्पताल तथा कार्यक्रमलाई पैसा विनियोजन नभएको गुनासो गर्दै उनीहरूले यसअघि पार्टीले सार्वजनिक गरेका कार्यक्रमलाई समेत सरकारले निरन्तरता दिन नसकेको, गरिब, निमुखालाई लक्षित गरी कार्यक्रम नबनाएको र संविधानसभा निर्वाचनका समयमा पार्टीले सार्वजनिक गरेको घोषणापत्रअनुसार कार्यक्रम नआएको बताए । बोल्नेक्रम नसकिएपछि बिहीबार पनि बैठक बस्ने भएको छ ।