देहरादुनमा कुटिएका विद्यार्थीलाई तत्काल उद्वार गरः काँग्रेस

64
  •  
  •  
  •  

काठमाडौँ, भारतको देहरादुनमा कुटिएका विद्यार्थीलाई तत्काल उद्वार गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारलाई आग्रह गरेको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विहीबार विज्ञप्ति जारी गरी भारत उत्तराखण्ड देहरादुनमा नेपाली वद्यार्थी कुटिएको घटनालाई गम्भीरतापूर्वक लिन आग्रह गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘आजको विश्वमा एक देशका विद्यार्थी अर्को देशमा पढ्न जाने विषय सामान्य कुरा बनिसकेको छ । नेपाल र भारत दुबै देशका विद्यार्थी एक आपसको देशका विभिन्न शहरमा अध्ययनरत छन् । जो जहाँ पढिरहेका छन् सुरक्षित र निर्भीक वातावरण प्राप्त गर्नु तिनको अधिकार मात्रै होइन सुनिश्चितता गर्ने अभिभारा दुबै देशका सरकारहरुको हो ।’

कुनै पनि बहानामा संसारमा कहीँ पनि कोही एक मात्र पनि नेपाली विद्यार्थी या अन्य कोहि पनि नेपाली नागरिक दुर्व्यवहार र आक्रमणमा पर्छन् भने त्यसलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिनुपर्ने विज्ञप्तीमा उल्लेख छ ।

नेपाली विद्यार्थीहरुको सुरक्षा र सम्मानका बारेमा गम्भीर पहलकदमी गरेर आगामी दिनमा यस्ता घटना हुन नदिन आवश्यक सतर्कताका लागि काँग्रेसले सरकारलाई आग्रह समेत गरेको छ ।


  •  
  •  
  •