काठमाडौं २३ चैत (ओएनएस) : नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आजबाट प्रक्रिया सुरु हुने भएको छ । आज उम्मेदवारी दर्ता हुँदैछ । संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ताका लागि विहान ९ बजेदेखि मध्यान्ह १२ बजेसम्मको सयम निर्धारण गरिएको छ । निर्वाचन समितिका अनुसार उम्मेदवारको पहिलो चरणको नामावली प्रकाशनसाढे १२ गरिनेछ ।
यस्तै उम्मेदवारको दरखास्त उपर दावी विरोधका लागि १२.३० देखि १.०० बजेसम्मको समय निर्धारण गरिएको छ । उम्मेदवारको दोस्रो नामावली प्रकाशन दिउँसो १.३० बजे गरिनेछ । दलको नेताको उम्मेदवारको अन्तिम नामावली प्रकाशन दिउँसो २ बजे गरिने संयोजक रमेश रिजालले जानकारी दिनुभयो । अन्तिम नामावली प्रकाशनपछि भोलि बिहान ११ बजेदेखि अपरान्ह २ बजेसम्म संसदीय दलको कार्यालय सिंहदरबारमा मतदान हुनेछ ।
यसपटक संसदीय दलको नेताको निर्वाचन विद्युतीय माध्यमबाट गरिने छ । दलको नेताका लागि सभापति शेरवहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । संसदीय दलको कार्यसमितिको निर्वाचन भने २६ गते हुनेछ ।