प्यानल अनुसार उम्मेदवारी दर्ता, त्रिपक्षीय भिडन्तमा नेता कार्यकर्ता

195
  •  
  •  
  •  

काठमाडौं २१ फागुन(ओएनएस) नेपाली कांग्रेसको महाधिवेसनमा नेतृत्वका लागि त्रिपक्षीय भिडन्त हुने भएको छ । कांग्रेस महाधिवेशनको बन्द सत्र सुरु नहुँदै पार्टी नेतृत्वका लागि तीव्र प्रतिस्पर्धा सुरु भइसकेको छ । सस्थापन पक्षमा दुई प्यानलले आज उम्मेदवारी दर्ता गर्ने भएका छन् । पार्टी सभापतिका लागि संस्थापन पक्षबाट कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र संस्थापन पक्षकै महामन्त्री कृष्णप्रसाद सिटौला प्रतिस्पर्धामा देखिएका छन् ।

आज कार्यवाहक सभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णाप्रसाद सिटौलाले मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ । सिटौलाले अहिले बिहान ८ बजेपछि र पौडेलले ९ बजेपछि मनोनयन दर्ता गर्ने कार्यक्रम छ । बरिष्ठ नेता शेरबहादुर देउवा प्यानलले हिजो नै दर्ता गरिसकेको छ । पौडेल प्यानलमा सभापति पौडेल र महामन्त्रीमा शसांक कोइराला हुनुहुन्छ, कोषाध्यक्ष तय हुँदैछ ।

सिटौलाको प्यानलबाट सभापतिमा सिटौला, महामन्त्रीमा गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरी हुनुहुन्छ । बरिष्ठ नेता देउवा प्यानलबाट सभापतिमा देउवा, महामन्त्री अर्जुननरसिंह केसी र कोषाध्यक्षमा चित्रलेखा यादवको नाम अघि सारिएको छ ।

आजदेखि सुरु हुने बन्दसत्रमा नीतिगतसँगै नेतृत्वका विषयमा छलफल हुनेछ । नेतृत्वका लागि भिडेका तीनै नेताले संविधान कार्यान्वयनका लागि संघीय प्रदेशको सीमांकनलगायत मधेसका मुद्दा समाधान गर्न लाग्ने प्रतिबद्धता जनाउनुभएको छ । तीनवटा प्यानल प्रतिस्पर्धामा रहेकाले पहिलो चरणमा कुनैपनि उम्मेदवारका पक्षमा ५१ प्रतिशत मत आउने सम्भावना कम देखिएको छ । विधानअनुसार सभापतिले बढी मत ल्याएर मात्रै हुन्न । जितका लागि ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्र्छ ।


  •  
  •  
  •