कांग्रेस नेतृत्वमा मधेसको प्रतिनिधित्व वीपीकाल जस्तै

183
  •  
  •  
  •  

काठमाडौं २० फागुन ।
कांग्रेसका संस्थापक नेता वीपी कोइराला कालमा पार्टीको नेतृत्व पंक्तिमा तराई-मधेसका मधेसी, थारुको जस्तो प्रतिनिधित्व थियो, पार्टीले ७ दशकपछि १३ औं महाधिवेशन गरिरहँदा पनि प्रतिनिधित्व उस्तै छ । पछिल्लो दश वर्षमा समानुपातिक समावेशी प्रतिनिधित्वको सवाल चर्को गरि उठिरहेका बेला मुलुककै जेठो राजनीतिक दल कांग्रेसभित्र पनि त्यो स्वर नउठेको होइन । तर, पार्टीको आन्तरिक जीवन जति समावेशी हुनुपर्ने हो, त्यति हुन सकेको देखिन्न ।

अझै कांग्रेस र मधेसको सम्बन्धलाई सधैं फरक र उच्च दृष्टिकोणले व्याख्या गर्ने गरिएपनि पार्टीको नेतृत्व पंक्तिमा मधेसको उपस्थिति सधैं न्यून नै छ । राणा शासन, निरकुंश राजतन्त्रको अन्त्य हुँदै गणतन्त्र स्थापनासम्मको संघर्षको अगुवाई गरेको कांग्रेस मार्फत मधेसी जनताले पनि राष्ट्रका लागि योगदान गरेको जनकपुरका प्राध्यापक डा.सुरेन्द्र लाभ भन्छन् । ‘कांग्रेस र मधेसको सम्बन्ध पूरानो छ, त्यसमा कुनै शंका छैन । तर, लगानी अनुसारको प्रतिफल मधेसले पार्टीबाट पाउन सकेको छैन’, लाभ भन्छन् ।

वि.स. २००३ मा कलकत्तामा पहिलो अधिवेशन गरी स्थापना भएको कांग्रेसमा सुरुवाती कालदेखिनै मधेसी नेताहरुको संलग्नता र सक्रियता थियो । वि.स.२००९ मा जनकपुरमा भएको पाँचौ महाधिवेशनपछि मात्र वीपी कोइरालाको नेतृत्वमा गठित १६ सदस्यीय कांग्रेस कार्यसमितिमा रामनारायण मिश्र, राधाकृष्ण थारु र परशुनारायण चौधरीको पहिलोपटक प्रवेश भएको देखिन्छ ।

१२ औं महाधिवेशनपछिको ८५ सदस्यीय कार्यसमितिमा १३ जना मधेसी, थारु र मुस्लिम छन् । प्रतिशतमा हेर्ने हो भने वीपीकालभन्दा पनि कार्यसमितिमा मधेसीको कम प्रतिनिधित्व छ, पार्टीका एक मधेसी नेताले बताए । नेतृत्वले मधेसीलाई अवसर नदिनु र विश्वास नगर्नुको परिणामका रूपमा अथ्र्याउँछन् उनले । मधेसबाट मतदाता र कार्यकर्ता बढेपनि पार्टीले नेता बढाउन नसकेको उनले गुनासो पोखे ।

कांग्रेसले मधेसीलाई मौका नदिएको कुरालाई नेता आनन्द ढुंगाना अस्विकार गर्छन । २००७ सालमा राणा, राजा र कांग्रेस सहितको मोहनशमशेरको नेतृत्वमा बनेको अन्तरिम सरकारमा पार्टीले भद्रकाली मिश्रलाई यातायात मन्त्री बनाउनुदेखि गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिमा मधेसकै रामवरण यादवलाई चुन्नुले मधेसीलाई पार्टीले विश्वास गर्दैन भन्ने कुराको खण्डन हो ढुंगाना भन्छन् ।

पार्टीको स्थापनाको सुरुवाती कालमा महेन्द्रनारायण निधि, परशुनारायण चौधरी, रामनारायण मिश्र, भद्रकाली मिश्र, देवनाथ यादव, सुर्यनाथ यादव, बेनीमाधव सिंह लगायतका नेताहरुको योगदानलाई सम्झन्छन ढुंगाना । कांग्रेसको अभियानमा लागेर जनकपुरमा राजा महेन्द्रमाथि बम हानेर दुर्गानन्द झा पार्टीका लागि फाँसीमै चढेका छन् ।

‘कांग्रेसको संगठनको मूल आधार क्षेत्र नै मधेस हो,’ ढुंगानले भने ‘पार्टी जब जब मधेसमा बलियो हुन्छ सत्ता पाउँछ । मधेसमा कमजोर भएका बेला पार्टी हार्छ । पार्टीमा मधेसको ठूलो लगानी छ ।’
डा. लाभ कांग्रेसले मधेसलाई बुझ्न नखोज्दा नै पार्टी भित्र असन्तुष्टिको स्वर उठेर सुरुमा तराई कांग्रेस, नेपाल सदभावना पार्टीदेखि अहिलेका कतिपय मधेसी दलको जन्म भएको बताउँछन् । ‘कांग्रेसले आफूलाई समावेशी देखाउन एकाध व्यक्तिलाई चुनेर राख्नु बाहेक वास्तविक समावेशी चरित्र कहिल्यै स्विकार्न सकेन,’ लाभले भने ‘पार्टीको आन्तिरिक जीवन र सत्तामा सहभागिताका बखतपनि त्यस्तै देखियो ।’

मधेसमा कांग्रेस कमजोर देखिनु वा पार्टीप्रति मधेसमा असन्तुष्टि बढ्नुमा पार्टीका पूराना नेता रामहरि जोशी नेतृत्व पंक्तिको अदुरदर्शिता र संकिर्ण सोंचाइलाई दोष दिन्छन् । ‘वीपीले तराईलाई ठूलो शक्ति देखेको र बुझेका थिए । उनको दुरदर्शी हेराई थियो,’ जोशी भन्छन ‘वीपीले भन्थे मधेसीमा देखिने राष्ट्रियता बहुतै कममा देख्छु ।’ वीपी पछाडिका नेताहरुमा दुरदर्शीताको अभाव रहेको भन्दै जोशी अहिले पहिलो पुस्ताका नेताहरुको निधनपछि पार्टीमा मधेस र मधेसीलाई बुझ्ने समस्या झन थपिएको बताए ।

कांग्रेसको राजनीतिलाई मधेससँग जोडेर हेर्दा शेख इदि्रस, महन्थ ठाकुर, विजय गच्छदार, रामवरण यादव र जयप्रकाश गुप्ता सम्मको नाम आउँछ । इदि्रसको निधन, ठाकुर, गच्छदार र गुप्ताको पार्टीबाट बर्हिगमन र राष्ट्रपति भएपछि सक्रिय राजनीतिक जीवनबाट यादवको अवकाशले पनि पार्टीमा मधेसी नेतृत्वको अभाव देखिएको हो । ‘०४६ साल पछाडि राष्ट्रिय जीवनमा चिनिन सफल मधेसी नेताहरु आज हामीसँग हुनुहुन्न,’ ढुंगाना भन्छन् ‘ठाकुर अहिले पार्टीमा रहिरहेका भए सभापतिको दावेदार हुन्थे ।’ ठाकुर पार्टीको दशौं महाधिवेशनपछि नै पार्टीको कोषाध्यक्ष थिए ।

मधेस आन्दोलनका समयमा कांग्रेस वा अन्य राष्ट्रिय पार्टीमा आवद्ध जिल्ला नेताहरुले पार्टी समावेशी चरित्रको नभएको भन्दै बिरोधीबाट चर्को आरोपको सामना खेप्नु परेको हुन्छ । पछिल्लो मधेस आन्दोलनमा तराईका जिल्ला नेता र कार्यकर्ताको भावना बुझेर फर्किएका कांग्रेसका युवा नेता विश्वप्रकाश शर्माको टोलीले शीर्ष नेतृत्वलाई बुझाएको ज्ञापनमा पार्टीको संरचनालाई समानुपातिक समावशी चरित्रमा ढाल्नुपर्ने सुझाव नै दिएका छन् ।

आफूसँगैका वा जुनियरहरु मधेसवादी दलका अध्यक्ष वा केन्द्रीय पदाधिकारी साथै मन्त्री भइरहँदा कांग्रेसमा टिकेका मधेसी नेताहरू अगाडि बढ्ने मौकाबट बञ्चित छन् । ‘पार्टीको नेतृत्वमा जति संख्यामा मधेसीको प्रतिनिधित्व बढ्नुपर्ने हो, त्यो अनुपातमा नभएकै हो,’ ढुंगाना भन्छन ‘पार्टी भित्र खुट्टा तान्ने प्रवृतिले पनि पार्टीमा लगानी भएकाहरुले पनि स्थान पाएका छैनन् ।’

०५६ सालमा सांसद निर्वाचित र ०५८ को शेरबहादुर देउवा सरकारमा कानुन सहायक मन्त्री रहिसकेका नागेन्द्रकुमार राय यसपटक पार्टीमा सर्लाहीको सभापति निर्वाचित भएका छन् । ‘लोभ लालचमा परेको भए मपनि कुनै मधेसवादी दलको ठूलो नेता भइसक्थे,’ राय भन्छन ‘म भन्दा जुनियर मानिस मधेसवादी पार्टी मार्फत ठूलो पदमा पुगेका बेला म बल्ल जिल्ला सभापति भएको छु । तर, हरेस खाएको छैन । कुनै खिन्नता छैन ।’ पार्टीमा धैर्यता, लगनशिलता र विश्वसनियता चहिने भन्दै उनले नेताले नगरेपनि समय आएपछि कार्यकर्ताबाटै आफू जस्ताको मूल्यांकन हुने विश्वास व्यक्त गर्छन ।
कान्तिपुरबाट


  •  
  •  
  •