काठमाडौं १९ फागुन ।
कांग्रेसको १३ औ महाधिवेसनमा सहभागि हुन विहारका मुख्यमन्त्री नितिश कुमार बुधबार काठमाडौं आउने भएका छन् । उनले विभिन्न राजनीतिक दलका नेताहरु र सरकारी पक्षसंग पनि भेटघाट गर्ने छन् ।
भारतमा मनमोहन सिंह प्रधानमन्त्री हुँदा पनि उनले नेपाल भ्रमण गर्ने चासो देखाएका थिए । पटक पटक केन्द्र सरकारसंग अनुमति मागे पनि आउन पाएका थिएनन । गिरिजाप्रसाद कोइरालाको निधनका समयमा आउने इच्छा जनाउँदा केन्द्र सरकारले स्वीकृति दिएको थिएन । यसपटक पनि कांग्रे उनी आउनेमा ढुक्क हुन सकेको थिएन । यसपालि भने भ्रमण स्विकृत भइसकेको छ । भाजपालाई उनको गठबन्दनले विहारमा लज्जास्पद हराएर उनी पुनः मुख्य मन्त्री बनेका हुन् ।
उनले कांग्रेसको महाधिवेसनमा सहभागि हुनुका साथै प्रधानमन्त्री केपी ओली, उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, अन्य राजनीतिक दलका शिर्ष नेताहरुसंग पनि राजनीतिक तथा नेपाल भारत सवम्वन्ध बारे परामर्श गर्ने छन् । उनका साथमा जनता दल युनाइटेडका विहारका नेता केसी त्यागी पनि आउने छन । त्यस्तै भारतीय जनता दलका उपाध्यक्ष भगत सिंह कोशियारी पनि नेपाल आउने भएका छन । कांग्रेस आइका नेताहरु पनि आउने बताइएको छ । अतिथि ब्यवस्थापनको जिम्मेवारी पाएका स्वागत समिति सदस्य राकेश हमालले उनीहरुको भ्रमणबारे कान्तिपुरलाई जानकारी दिएका हुन् ।
केही आईसके
यसैबीच मंगोलियाका मन्त्रीपरिषदका सदस्यद्वय योस सन र कोङ चान भेसना काठमाडौं आइसकेका छन । उनीहरु तीन दिन यहाँ रहने कांग्रेसको विदेश विभागले जनाएको छ । विदेश विभागका अनुसार १६ जना बरिष्ठ विदेशी नेताहरु आउने टुंगो लागेको छ । अधिवेसन विहिबार आरम्भ हुने हुनाले धेरैजसो नेता बुधबार आउने र शुक्रबार र्फकने कार्यक्रम छ ।
सोसलिस्ट इन्टरनेसनलका महासचिव लुइस आयला र बंगलादेशका सुचना मन्त्री हसनुल हक इनु पनि बुधबार विहान आइपुग्ने कार्यतालिका छ । कतिपय विदेशी मुलुकका नेताहरुले आफ्नो राजदूतलाई प्रतिनिधीत्व गर्न आग्रह गर्ने भएका छन । कतिपयले आफु निकट रहेका अन्तराष्ट्रिय गैरसरकारी संस्थाका अधिकारीलाई पनि प्रतिनिधीत्व गराउने छन् ।
कान्तिपुरबाट