संस्थापनले फागुन १० गतेपछि मात्रै सभापति घोषणा गर्ने

135
  •  
  •  
  •  

काठमाडौं ६ फागुन ।
कांग्रेसको नेतृत्वका लागि बरिष्ठ नेता शेरवहादुर देउवा चुनावी मैदानमा भिडिरहेका बेला संस्थापन पक्षले भने सभापतिको उम्मदेवारी अघि सार्नसम्म सकेको छैन् । संस्थापन पक्षले नेतृत्वका आकांक्षीहरुबीच सहमति गराउन नसक्दा उम्मेदवार अघि सार्न नसकिएको हो । महाराजगन्जस्थित सशांक कोइराला निवासमा बुधबार बसेको बैठकमा समेत कार्यबाहक सभापति रामचन्द्र पौडेलको नाममा सर्वसम्मत गराउने प्रयास सफल हुन सकेन ।

महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौंलाले आ-आफ्नो दावी दोहोर्‍याएपछि संस्थापन पक्षमा उम्मेदवार तय गर्न ढिलाई भएको हो । तत्कालिन पार्टी सभापति सुशील कोइरालाको निधन भएको १३ औं दिनसम्म औपचारिक घोषणा नगर्ने भनिएपनि अनौपचारिक सहमति जुटाउन बारम्बारका प्रयास असफल भएपछि संस्थापन पक्षका नेता तथा कार्यकर्ताहरु माझ निराशा छाएको छ । उनीहले अनौपचारिक तवरमा भएपनि तत्काल सभापतिको उम्मेदवार अघि सार्न नेतृत्वलाई दबाव दिदै आएका छन् ।

स्रोतका अनुसार सिटौलाको तुलनामा सिंह सहमतिका लागि लचक देखिएका छन् । उनको दोस्रो विकल्प उपसभापतिमा देखिन्छ । स्रोतका अनुसार उपसभापति पाउने पक्का भएमा सिंहले आफ्नो दावी छाड्न सक्ने संकेत देखाएका छन् । ‘मिल्ने हो भने कसरी मिल्ने ? सवैको आकांक्षालाई कसरी समन्वय र सुरक्षित बनाउने ? सिंहको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो,‘सहमतिका लागि सवैको आकांक्षालाई सम्वोधन हुने प्रस्ताव आउनुपर्‍यो ।’

पौडेलले आंकाक्षीहरुलाई कहाँ(कहाँ व्यवस्थापन गर्ने भन्नेबार कुनै प्रस्ताव ल्याउन सकेका छैनन् । पार्टीमा उपसभापति, दुई महामन्त्री, एक/एक सहमहामन्त्री र कोषाध्यक्ष पदाधिकारीको पद छ । उपसभापति र महामन्त्रीका आंकाक्षीहरु धेरै भएकाले पनि पौडेललाई सबैलाई समायोजन र व्यवस्थापन गर्न कठिनाई परिरहेको छ ।
कान्तिपुरबाट


  •  
  •  
  •