कांग्रेस महाधिवेशन देशभरि परिणाम आउँदै, कडा टक्कर-देउवाको अग्रता

243
  •  
  •  
  •  

धनगढी, २३ माघ
नेपाली काँग्रेस १३ औं महाधिवेशन अन्तर्गत शुक्रबार सुदूरपश्चिममा भएको क्षेत्रीय अधिवेशनको निर्वाचनमा अधिकांश स्थानमा देउवा पक्षधर निर्वाचित भएका छन् ।
सुदूरपश्चिमका २१ निर्वाचन क्षेत्र मध्ये १५ क्षेत्रमा शुक्रबार सहमति र निर्वाचनमार्फत क्षेत्रीय समिति र महाधिवेशन प्रतिनिधि चयन भएकोमा देउवा पक्षको ठूलो बहुमत छ । सार्वजनिक मतपरिणाम अनुसार कैलालीको निर्वाचन क्षेत्र नम्बर १, ५ र ६, कञ्चनपुरको २, ४ र बझाङको १ मा देउवा पक्ष एकलौटी विजयी भएकोे छ, भने कैलालीको २ मा संस्थापनको एकलौटी छ ।कैलालीको निर्वाचन क्षेत्र नम्बर ३, कञ्चनपुरको १ मा संस्थापन तथा कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ मा देउवा पक्षको बहुमत छ ।

कैलालीका ६ निर्वाचन क्षेत्र मध्ये १, ५ र ६ मा देउवा पक्ष एकलौटी विजयी भएको छ, भने २ मा संस्थापन एकलौटी पक्ष विजयी भएको छ । क्षेत्र नम्बर ३ मा अधिकांश पदमा संस्थापन पक्ष विजयी भएको छ, भने ४ मा अधिकांश देउवा पक्षका पदाधिकारी र महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । कैलाली क्षेत्र नम्बर ६ को अधिवेशनबाट सभापतिमा हरिष खड्का निर्विरोध चयन भएका छन् । महाधिवेशन प्रतिनिधिका लागि महिलातर्फ भएको निर्वाचनमा पुष्पा भट्ट र रत्ना मल्ल निर्वाचित भएका छन् ।

अन्य पदाधिकारी र १२ महाधिवेशन प्रतिनिधिमा पनि देउवा पक्षकै निर्विरोध चयन भएका छन् । गत संविधान सभा निर्वाचनमा नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा कैलाली क्षेत्र नम्बर ६ बाट विजयी भएका थिए । क्षेत्र नम्बर ६ देउवाको पकट क्षेत्र मानिन्छ ।

कैलाली क्षेत्र नम्बर ५ को देउवा पक्षकै दुई प्यानलबीच निर्वाचन भएकोमा क्षेत्रीय सभापतिमा दीनेशराज जोशीको प्यानल एकलौटी विजयी भएको छ ।
क्षेत्र नम्बर ४ मा पनि देउवा पक्षका खेम चौधरी सभापतिमा निर्वाचित भएका छन् । महाधिवेशन प्रतिनिधिमा १२ मध्ये १० देउवा र २ संस्थापन पक्षका विजयी भएका छन् ।

क्षेत्र नम्बर ३ को पदाधिकारीमा मिश्रित परिणाम आएको छ, भने महाधिवेशन प्रतिनिधिमा संस्थापन पक्षका बढी विजयी भएका छन् ।
क्षेत्रीय सभापतिमा संस्थापन पक्षका जीवन श्रेष्ठ विजयी भए, भने सचिव र कोषाध्यक्षमा देउवा पक्षका । १२ महाधिवेशन प्रतिनिधि मध्ये ९ संस्थापन र ३ देउवा पक्षका विजयी भएका छन् । क्षेत्र नम्बर २ पदाधिकारी र महाधिवेशन प्रतिनिधिमा पूरै संस्थापन पक्ष विजयी भएको छ । क्षेत्रीय सभापतिमा भक्तबहादुर थापा निर्वाचित भएका छन् ।

पहिले देउवा पक्षका रहेका कमल शाह गत संविधान सभा निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा पराजित भएसँगै संस्थापनतिर लागेका थिए । उनले नेतृत्व गरेको पुरै प्यानल विजयी भएको हो । शाह पनि महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् ।
कैलाली क्षेत्र नम्बर १ मा पदाधिकारीसहित पूरै देउवा पक्ष विजयी भएको छ । क्षेत्रीय सभापतिमा भुवनेश्वर अधिकारी टेकेन्द्रबहादुर धामीलाई पराजित गर्दै विजयी भएका हुन् ।

कञ्चनपुर १ मा संस्थापन ः २, ३ र ४ मा देउवा
कञ्चनपुरमा २, ३ र ४ देउवा तथा १ मा संस्थापन पक्षका पदाधिकारी र महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।
क्षेत्र नम्बर १ को सभापतिमा संस्थापन पक्षका गोपीप्रसाद उपाध्याय निर्वाचित भएका छन् । महाधिवेशन प्रतिनिधिमा अधिकांश संस्थापन पक्षका रहेका छन् ।
क्षेत्र नम्बर २ मा देउवा पक्षको पूरै प्यानल पदाधिकारी र महाधिवेशन प्रतिनिधि विजयी भएको छ । सभापतिमा देउवा पक्षका चिन्तामणि भट्ट निर्वाचित भएका छन् ।

३ मा पनि देउवा पक्षकै दलबहादुर बोहरा सभापतिमा निर्वाचित भएका छन् । १२ महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा अधिकांश देउवा पक्षका विजयी भएको जनाइएको छ ।

क्षेत्र नम्बर ४ मा क्षेत्रीय सभापति गोपालदत्त भट्ट निर्विरोध चयन भएका छन् । १२ महाधिवेशन प्रतिनिधि मध्ये ११ देउवा र १ संस्थापन पक्षका विजयी भएका छन् ।
बझाङ निर्वाचन क्षेत्र नम्बर १ को सभापतिमा भक्तराज जोशी निर्विरोध चयन भएका छन् । देउवा पक्षका जोशी सहित अधिकांश महाधिवेशन प्रतिनिधि चयन भएका छन् । १२ महाधिवेशन प्रतिनिधि मध्ये ११ देउवा पक्षका छन् । संस्थापन पक्षका चन्द्रा जोशी महाधिवेशन प्रतिनिधिमा चयन भएकी छिन् ।
बैतडीको क्षेत्र नम्बर १ मा देउवा पक्षका गौरिसिंह रावल क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन् । सचिवमा भने संस्थापन पक्षका चक्रबहादुर चन्द विजयी भए । सदस्यमा केदारनाथ अवस्थी लगायत विजयी भएका छन् ।

यसैगरी क्षेत्र नम्बर २ मा पनि देउवा पक्षका तेजबहादुर चन्द सभापतिमा निर्वाचित भएका छन् । यस क्षेत्रमा पनि सचिवमा संस्थापन पक्षका शिवराज भट्ट निर्वाचित भएका छन् । दुबै क्षेत्रमा महाधिवेशन प्रतिनिधिको मतगणना भने शुक्रबार मध्यरातिसम्म जारी रहेको थियो ।

को-को पराजित भए ?
नेपाली काँग्रेसको शुक्रबार भएको क्षेत्रीय अधिवेशनमा कैलाली, कञ्चनपुरमा पूर्व मन्त्री तथा जिल्ला तहका प्रभावशाली नेता पराजित भएका छन् ।
कञ्चनपुर क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधिमा पार्टीका पूर्व केन्दीय सदस्य तारणीदत्त चटौत पराजित भएका छन् । पूूर्व पर्यटन मन्त्री समेत रहेका सांसद चटौत क्षेत्रीय अधिवेशनमा पराजित भएका हुन् । १ सय १८ मतदाता रहेको ४ नम्बर निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशनमा चटौतले ३० मत मात्रै पाएको निर्वाचन अधिकृत ललितसिंह साउँदले जानकारी दिए ।

उक्त क्षेत्रबाट देउवा पक्षका प्रभावशाली नेता रमेश लेखक लगायत विजयी भएका छन् । कञ्चनपुरकै ३ नम्बर निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिमा पार्टीका पूर्वसभापति अन्तराम भट्ट पनि पराजित भएका छन् । यसैगरी कैलाली ३ नम्बर निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिमा पार्टीका पूर्व उपसभापति वीरबहादुर पनि पराजित भएका छन् । क्षेत्र नम्बर ३ मा अधिकांश पदाधिकारी र महाधिवेशन प्रतिनिधिमा संस्थापन पक्षका विजयी भए पनि हमाल भने पराजित भएका छन् । उनी संस्थापन पक्षबाट जिल्ला सभापति बन्ने चर्चा रहेको थियो ।


  •  
  •  
  •