कांग्रेसमा नेतृत्वको बहस, कोइरालालाई विदा दिएर नयाँ अनुहारको खोजी

119
  •  
  •  
  •  

काठमाडौं ६ साउन (ओएनएस) :
कांग्रेस सभापति सुशील कोइरालाको स्वास्थ्यमा समस्या देखिएसँगै पार्टीभित्र नयाँ नेतृत्वको बहस सुरु भएको छ। कोइराला आगामी वर्ष हुने १३ औं महाधिवेशनमा स्वास्थ्यका कारण सभापतिका प्रत्याशी नबन्ने अड्कलसहित नेताहरु उनको उत्तराधिकारी बन्ने दाउमा सक्रिय हुने थालेका छन्।
वरिष्ठ नेता शेरबहादुर देउवा १३ औं महाधिवेशनमा सभापतिको प्रत्याशी बन्ने निश्चितजस्तै रहे पनि कोइरालाको विकल्पमा संस्थापन पक्षबाट पनि प्रत्याशीको खोजी सुरु भइसकेको छ। कोइरालाको उत्तराधिकारीका रुपमा उपसभापति रामचन्द्र पौडेलले आफूलाई प्रस्तुत गरिसकेका छन्। दोस्रो तहका नेताहरु भने पौडेललाई सहजै स्विकार्न तयार देखिँदैनन्। बरु आफैं सभापतिमा आकांक्षा राख्न थालेका छन्।
महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाका साथै सशांक कोइराला, रामशरण महत, अर्जुननरसिंह केसीले आफूलाई विकल्पका रुपमा प्रस्तुत गर्न थालेका छन्। उता वरिष्ठ नेता देउवाको विकल्पका रुपमा विमलेन्द्र निधिलाई लिन थालिएको छ।
उपसभापति पौडेलसहितका नेता सभापति कोइरालासँगको परामर्शपछि आफ्नो पोजिसन बनाउने पक्षमा छन्। ‘सभापतिजी आउँदै हुनुहुन्छ,’ कार्यबाहक सभापतिसमेत रहेका पौडेलले भने, ‘उहाँ आउनुभएपछि बैठक राखेर एक वर्ष कार्यकाल थप गर्नेदेखि महाधिवेशनको तयारी सुरु हुन्छ।’ उपचारका लागि असार २ गते अमेरिका गएका कोइराला मंगलबार (आज) फर्कंदैछन्।
कोइरालाको असली उत्तराधिकारी आफैं भएको उपसभापति पौडेलको बुझाइ छ। पौडेलले अन्य नेताहरुसँग त्यसैअनुसार आफूलाई प्रस्तुत गरिरहे पनि संस्थापन पक्षका नेता उनलाई सहजै नेता मान्न तयार छैनन्। ‘सुशील’दापछि सहजै नेता मान्ने व्यक्ति कोही भएन,’ संस्थापन पक्षका एक नेताले नागरिकसँग भने, ‘कसलाई मान्ने, कसलाई नमान्ने, अब कसरी अघि बढ्ने बडो संकट छ पार्टीमा।’
उपप्रधानमन्त्रीको समेत जिम्मेवारीमा रहेका महामन्त्री सिंहले पनि १३ औं महाधिवेशनमा आफूलाई सभापति प्रत्याशीका रुपमा प्रस्तुत गर्न थालेका छन्। जिल्ला दौडाहालाई तीव्र बनाएका सिंहले उपसभापति पौडेलको विकल्पमा आफूलाई प्रस्तुत गर्न थालेका हुन्। ‘उपप्रधानमन्त्री बनेपछि उहाँ (सिंह) मा निकै महŒवाकांक्षा बढेको छ,’ एक नेताले भने।
यता नेतृ सुजाता कोइराला पनि पौडेलविरुद्ध उत्रिएकी छन्। पौडेल नेतृत्वमा रहेको प्रशिक्षण विभागका नाममा सञ्चालन भएका कार्यक्रम कोइरालाविरुद्ध भएको भन्दै सुजाताले संसदीय दलको बैठकमा पौडेललाई कारबाहीको माग गरेकी थिइन्। सुजातासहित संस्थापन पक्षकै नेताहरुको विरोधपछि पौडेल नेतृत्वको प्रशिक्षण विभागको कार्यक्रम नै प्रभावित भएको थियो। अर्का महामन्त्री सिटौलासहितका नेता पनि पछिल्लो समय पौडेलका गतिविधिबाट खुसी छैनन्।
असन्तुष्ट पक्षलाई चित्त बुझाउँदै पौडेल संस्थापन पक्षबाट सभापति प्रत्याशी बने पनि महामन्त्रीद्वय सिंह र सिटौलाका साथै महत, केसी मात्र होइन, कोइराला परिवारकै शेखर, सुजाता र सशांकलाई पनि अटाउनु सजिलो छैन।
पौडेललाई सभापति मानेपछि पनि सशांक, शेखर, सुजाताले नै महŒवपूर्ण पद पाउने भए अरु (महत, केसीसहितका) नेताले पौडेललाई साथ दिनेछैनन्। सभापति कोइरालाको समर्थन पाउन कोइराला परिवारका तीनमध्ये एकलाई पार्टी पदाधिकारीको जिम्मेवारी दिनैपर्ने पौडेलको बाध्यता छ।
सभापतिमा आफुलाई समर्थन नगर्दा पार्टी नेतृत्वमा कोइराला परिवारको सदस्य पुग्ने सम्भावना अन्त्य हुने भएकाले पनि शेखर, संशाक र सुजाताको सहयोग आफैलाई हुने पौडेलको बुझाइ छ। कोइराला परिवारको समर्थन प्राप्त गरेपनि पदाधिकारीका आकांक्षी सबैको चित्त बुझाउन नसके वरिष्ठ नेता देउवाको समूहमा जो कोही पुग्ने बाटो खुल्ला हुने संभावना पनि उत्तिकै छ।
आफ्ना आकांक्षा पूरा नहुँदा कोइराला परिवारकै सदस्यहरुसमेत देउवा प्यानलमा पुग्न सक्ने एक नेताले जानकारी दिए। ‘आफ्नो समूहमा आएकालाई व्यवस्थापन गर्न उता (देउवा) तिर सहज छ,’ ती नेताले थपे, ‘आफ्नै छँदैछन्, आठ/दसजना ताने संस्थापन पक्षलाई हानि हुन्छ।’ यता पौडेलसहितका नेता भने आफ्नो पक्षका नेताले गुट परिवर्तन नगरून् भनेर पदाधिकारी संख्या बढाउने पक्षमा लागेका छन्। तीन उपसभापति र पाँच सहमहामन्त्री बनाउने विषयमा पौडेलसहितका नेताले छलफलसमेत थालेका छन्।
कार्यवाहक सभापतिका रुपमा समेत पौडेलले पार्टी नेतृत्वका लागि लय नलिएको संस्थापन पक्षका नेताहरुले गुनासो गरेका छन्। ‘प्रशिक्षण विभागले कार्यक्रम गर्ने तर पौडेल आफैं सरकारको विरोध गर्ने शेरबहादुर देउवा बचाउ गर्दै हिँड्ने अवस्था छ,’ एक नेताले भने, ‘१८/२० जिल्लाका सभापति लिएर हिँड्नुपर्ने बेला महाधिवेशन प्रतिनिधि पनि जित्न मुस्किल हुने नेतालाई वरिपरि राखेर अभियान गरिरहेका छन्।’
उपसभापति पौडेललाई कोइरालापछिको सरकारको नेतृत्व दिने र शेरबहादुर देउवालाई सहमतिबाट सभापति बनाउनुपर्ने अभियानमा समेत केही नेता लागेका छन्। ‘सभापतिभन्दा पौडेलको चाहना प्रधानमन्त्री बन्नमै छ,’ संस्थापन पक्षका एक नेताले भने, ‘पौडेललाई प्रधानमन्त्री बनाएर देउवा सभापति बन्ने सम्भावना पनि छ।’
कोइराला नेतृत्वको सरकार परिवर्तन भएर वरिष्ठ नेता देउवा प्रधानमन्त्री बनेको अवस्थामा उनलाई सभापति हुनबाट कसैले रोक्न नसक्ने विश्लेषण गर्ने नेताहरु पनि धेरै छन्। अहिलेकै सरकारले तोकिएको मितिमा नयाँ संविधान जारी गर्दै सहज अवस्थामा हुने महाधिवेशनको परिणाम आफ्नो पक्षमा पार्न संस्थापन पक्षलाई सहज हुने उनीहरुको बुझाइ छ।
कांग्रेसमा अहिले पनि ६०/४० कै अवस्था रहेको जिकिर गर्दै संस्थापन पक्षमा बढ्दै गएको निराशाको फाइदा देउवा पक्षले लिनसक्ने नेताहरुको बुझाइ छ। ‘संस्थापन पक्षका नेतालाई आफ्नो पक्षमा आउन पनि देउवाले पछिल्लो समय सहज वातावरण बनाएका छन्,’ एक नेताले भने, ‘कति पहिरो जान्छ, त्यसले नै नयाँ नेतृत्व चयन निर्धारण गर्छ।’
केन्द्रीय सदस्य धनराज गुरुङले सभापति सुशील कोइराला, शेरबहादुर देउवा वा रामचन्द्र पौडेलको विकल्प अहिलेसम्म पार्टीमा नरहेकेा बताए। ‘सुशील’दा (सुशील कोइराला) अब सभापतिमा प्रतिस्पर्धा नगर्ने हो भने मैदानमा पुग्दासम्म थेग्रिएर शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच नै प्रतिस्पर्धा हुन्छ,’ गुरुङले भने, ‘अहिलेसम्मको अवस्था हेर्दा दोस्रो पुस्ता नेतृत्वका लागि तयार भएजस्तो देखिँदैन।’ सभापति उपचारका लागि विदेश रहेकाले अबको नेतृत्व को भन्ने ढंगबाट छलफलले प्रवेश पाइनसकेको पनि उनले बताए।
केन्द्रीय सदस्य गगन थापाले पार्टीभित्रको परम्परागत गुटबन्दीलाई भत्काउँदै १३ औं महाधिवेशनले पार्टीको नेतृत्व नयाँ ढंगबाट चयन गर्नुपर्ने बताए। ‘सबै प्रकारका गुटबन्दीलाई अन्त्य गर्दै आगामी महाधिवेशनमा नयाँ ढंगबाट नेतृत्व चयन गर्नुपर्छ,’ थापाले भने।
केन्द्रीय सदस्य नविन्द्रराज जोशीले पार्टीलाई अझ सशक्त र प्रभावकारी बनाउन सक्ने नेतृत्वको खाँचो रहेको बताए। ‘बिपीले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादको सिद्धान्त र चिन्तन बोक्नसक्ने नेतृत्वको खाँचो छ,’ जोशीले भने, ‘असल मान्छेको खोजी गर्नुपर्छ।’
विधानअनुसार केन्द्रीय समितिका साथै कांग्रेसका सबै निकायको कार्यकाल आगामी असोज ५ गते सकिँदैछ। विधानले गरेको विशेष व्यवस्थाअनुसार केन्द्रीय समितिको अबको बैठकले पार्टीका सबै निकायको कार्यकाल एक वर्ष थप गर्न सक्नेछ। थपिएको समयलाई १३ औं महाधिवेशन तयारी वर्षका रुपमा प्रयोग गर्ने कांग्रेसको योजना छ।
पार्टी पदाधिकरीको बैठकले महाधिवेशनको तयारीस्वरुप पार्टीको क्रियाशील सदस्यता वितरण सुरु गरेको संगठन विभाग प्रमुख आनन्दप्रसाद ढुंगानाले बताए। भदौ मसान्तभित्र सदस्यता केन्द्रमा पठाउन पनि सबै जिल्ला र क्षेत्रलाई पत्राचार गरिसकेका छौं,’ ढुंगानाले भने, ‘सभापति आउँदै हुनुहुन्छ, उहाँ आएपछि बसेर महाधिवेशनको मितिका साथै अन्य विषयमा छलफल हुन्छ।’ नागरिकबाट


  •  
  •  
  •