महाधिवेशनको चटारो, क्रियाशील सदस्यता विवाद

115
  •  
  •  
  •  

काठमाडौं २३ पुस ।
नेपाली कांग्रेसले निर्वाचन कार्यविधि बनाउन केन्द्रीय समिति बैठक बोलाएको छ। १३औं महाधिवेशन सुरु हुन दुई महिनाभन्दा कम समय बाँकी रहँदा पार्टी निर्वाचन समितिको कार्यविधि बनाउन शुक्रबार १ बजे बैठक बोलाएको हो।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले कार्यविधि तय गरेसँगै राधेश्याम अधिकारी नेतृत्वको निर्वाचन समितिले काम थाल्नेछ। गाउँदेखि केन्द्रसम्म पार्टीको निर्वाचन प्रक्रिया अघि बढाउन समितिले जिल्ला र क्षेत्रको नेतृत्व चयनका लागि पार्टी निकट कानुन व्यवसायीहरुलाई निर्वाचन अधिकृत तोक्ने तयारी छ।

१३औं महाधिवेशन अन्तर्गत कांग्रेसले माघ १५ गते गाउँ–नगर, २२ गते क्षेत्रीय अधिवेशन र माघ २५ गते जिल्ला अधिवेशनको तालिका तय गरेको छ भने २० देखि २३ फागुनसम्म काठमाडौँमा हुँदैछ।

अधिवेशन अघि नै निर्वाचन समितिले मतदाता नामावली सार्वजनीक गरीसक्नुपर्ने भएपनि गाउँ अधिवेशन सुरु हुन तीन साता मात्र बाँकी रहँदा क्रियाशील सदस्यता विवाद टुंगो लाग्न सकेको छैन। केन्द्रीय सदस्य नरहरि आचार्यको समितिले पुस १३ गते सभापति सुशील कोइरालालाई अन्तिम प्रतिवेदन बुझाएको छ।

छानविन समिति सदस्य रामकृष्ण यादवको फरकमतसहितको प्रतिवेदन सभापति कोइरालाले बुझेका छन्। यादवले सोलुखुम्बु, रौतहट–४ र कैलालीमा प्रकृया नर्पुयाई सदस्यता आएकाले नयाँ सबै सदस्यता स्थगन गर्नुपर्ने फरकमत राखेका छन्। पार्टीभित्र राजनीतिक सहमति जुटाउन भन्दै कोइराला अहिलेसम्म प्रतिवेदन निर्वाचन समितिलाई पठाएका छैनन्।

पुस ५ गते सम्पन्न केन्द्रीय समितिले सदस्यता छानबिन समितिको प्रतिवेदनबारे केन्द्रीय समितिमा उठेका विचार र सुझावलाई समेत दृष्टिगत गरी केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले नै तीन दिनभित्र अन्तिम निर्णय गरी सभापतिलाई बुझाउने र सोहीअनुसार सभापतिले निर्वाचन समितिलाई पठाउने निर्णय गरेको थियो।

छानविन समितिले सोलुखुम्बु जिल्लाको २४ गाविसका नयाँ क्रियाशील सदस्यता स्थगित गरिएको थियो। यसअघि समितिले १६ गाविसको मात्रै स्थगित गर्ने निर्णय लिएको थियो। कपिलवस्तु–४ नम्बर क्षेत्रका छ गाविसका नयाँ क्रियाशील सस्यता फुकुवा गरिएको छ।

त्यस्तै, झापा–६ नम्बर क्षेत्रका अन्तर्गत गौरादह गाविसमा नयाँ सिफारिस गरिएका १७८ मध्ये जिल्ला कार्यसमितिबाट अनुमोदोन भएका १३९ लाई मात्रै मान्यता दिने निर्णय समितिले लिएको छ। स्वीकृत नभएका ३९ को नयाँ क्रियाशील सदस्यतालाई १३ औं महाधिवेशन पश्चात लागू हुनेगरी कायम गरिएको प्रतिवेदनमा उल्लेख छ। जनसम्पर्क समिति अष्ट्रेलियाले क्रियाशील सदस्यता शुल्क बुझाएपछि सूचीलाई मान्यता दिइएको छ। नागरिकबाट


  •  
  •  
  •