कोइरालाले भने,’प्रधानमन्त्रीमा उठियो, उठाईयो परिबन्दमा परियो’

182
  •  
  •  
  •  

काठमाडौं २० कात्तिक ।
कांग्रेस सभापति सुशील कोइरालाले ‘परिवन्द’ मा परेर आफूले प्रधानमन्त्रीमा उम्मेदवारी दिएको बताएका छन् । कस्तो परिवन्द भन्नेबारे उनले खुलाएनन् । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा उठेका प्रश्नको जबाफ दिदै विहिबार कोइरालाले भने,’उम्मेदवारी दिने अघिल्लो दिनसम्म म राष्ट्रपति पनि हुन्न, प्रधानमन्त्री पनि हुन्न भनेकै थिएँ । तर उठियो, उठाईयो, परिवन्दमा परियो ।’

केन्द्रीय कार्यसमितिको बैठकमा बोल्ने नब्बे प्रतिशत बढीले कोइरालाको उम्मेदवारीलाई गल्ती भन्दै भारतीय दबावमा उम्मेदवारी दिएको धारणा राखेका थिए । तर, कोइरालाले परिबन्दमा परेको बताउदै विदेशीको दबाव भने नरहेको बताए । त्यसअघि महामन्त्री कृष्णप्रसाद सिटौलाले अघिल्लो दिनको राती ९ बजेसम्म उम्मेदवारी दिन्न भन्ने कोइरालाले भोलीपल्ट उम्मेदवारी दिने निर्णयबाट आफू आश्चर्य चकित भएको धारणा बैठकमा राखेका थिए ।

‘यो भयानक गल्ती थियो । कम्तिमा पार्टी सभापति र संविधान जारी गरेको प्रधानमन्त्रीलाई उम्मेदवारी रोक्न सकेको भए यति ठुलो क्षती हुन्थेन’ सिटौलाको भनाई उत्धृत गर्दै स्रोतले भन्यो,’अब यो गल्तीबाट पाठ सिकेर अघि बढ्नुको विकल्प हामीसंग छैन ।’ महामन्त्री प्रकाशमान सिंहले पनि कोइरालाको उम्मेदवारीलाई गल्ती नै भएको बताए । ‘अहिलेको संविधान नै त्रिशंकु संस्कृतिको छ । भोली हुने सरकारपनि गठबन्धनबाटै हुने हो । यसलाइ बुझेर राजनीतिक विश्वास कायम गर्न सक्नुपथ्र्यो’ सिंहको भनाई थियो,’तर सभापतिजीले नै शेरवहादुरजी र रामचन्द्रजीले मलाई छाड्नु भयो भनेर भनेपछि निर्णय उल्टाउने सकिने अवस्था भएन ।’

बैठकमा बोल्ने सवैजसोले उम्मेदवारी दिनुलाई गल्ती ठहर गरेपनि उपसभापति रामचन्द्र पौडेलले भने सहि निर्णय भएको बताए । ‘पार्टीले उम्मेदवारी दिनुपर्दथ्यो, उम्मेदवारी दिएर राम्रो भएको छ’ पौडेलको भनाई थियो । पौडेलले पार्टीकै निर्णयबाट उम्मेदवारी दिईएको भनी माईन्यूटमा लेख्ने प्रस्ताव गर्दा केन्द्रीय सदस्यहरुले होहल्ला गर्दै विरोध गरेका थिए । उनीहरुले प्रधानमन्त्रीको उम्मेदवारी बनाउने निर्णय पार्टी केन्द्रीय कार्यसमितिबाट नभएर तीन नेताबाट भएको बताएका थिए । केन्द्रीय सदस्यहरुको विरोधपछि पार्टीको निर्णयबाट उम्मेदवार बनाईएको भन्ने भाषा हटाईएको थियो ।

केन्द्रीय कार्यसमितिको निर्णयमा एमालेसंग विमति बढै गएकाले उम्मेदवारी दिन बाध्य भएको जनाईएको छ । ‘संविधान निर्माण क्रममा सहकार्य गर्दै आए पनि तराई मधेसलाई हेर्ने दृष्टिकोण र भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुर्ननिर्माण प्राधिकरण लगायत महत्वपूर्ण विषयहरुमा एमाले पार्टीसाग हाम्रा विमती रहदै आएको सिलसिलामा कांग्रेस पार्टीले प्रधानमन्त्री, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा गरेको हो’ कांग्रेसले निर्णयमा भनेको छ ।

चुनावी प्रतिस्पर्धालाई स्वाभाविक रुपमा लिईएको बताउदै कांग्रेसले आफ्ना कार्यकर्ता र शुभ चिन्तकलाई कुनै पनि अफवाहबाट प्रभावित नभई उच्च मनोबलका साथ अघि बढ्न आहृवान समेत गरेको छ । जबाफ दिने क्रममा देउवाले भने प्रधानमन्त्रीको उम्मेदवारीका बिषयमा बोलेनन । उनले आफूले सरकारलाई पुर्ण रुपमा सहयोग गर्दापनि पार्टी सभापति कोइराला इमानदार नभएको बताएका थिए । कोइराला निकट केन्द्रीय सदस्य महेश आचार्यले पनि प्रधानमन्त्रीको उम्मेदवारीलाई गम्भिर गल्तीको रुपमा लिदै यसबाट पाठ सिकेर अघि बढ्नुपर्ने बताएका थिए ।
कान्तिपुरबाट


  •  
  •  
  •